अमरराज नहर्की
तनहुँ, वैशाख १६ गते । शिक्षकको आन्दोलनले गर्दा बन्द भएका तनहुँ सामुदायिक विद्यालय पालिकाको दबाबपछि खुल्न थालेका छन् । विद्यार्थीको पढ्न पाउने नैर्सगिक अधिकारबाट बञ्चित हुने र उनिहरुको भविष्य अन्धकार भएको भन्दै पालिकाले पठनपाठन सुरु गर्न दबाब बढाएपछि मङ्गलबारबाट अधिकांश विद्यालय सञ्चालनमा आएका हुन् ।
पालिकाहरुले विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेका थिए । कतिपय विद्यालयले सूचना नै जारी गरि विद्यालय सञ्चालन भएको जानकारी दिएका छन् भने केही विद्यालयले विद्यालयको पोशाक नलगाई विद्यालय आउन आन्तरिक रुपमा सूचना जारी गरेका छन् ।
मङ्गलबारदेखि विद्यालय सञ्चालनमा ल्याइएको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजारस्थित रामशाह माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले बताउनुभयो । सूचना नै जारी गरेर विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
शिक्षक आन्दोलन तथा चैत २५ गतेदेखिको आम हड्ताललाई नैतिक तथा भौतिक समर्थन गर्दै आजसम्म पनि यस विद्यालयको दह्रो उपस्थिति समेत रहेको व्यहोरा अनुरोध गर्दै शिक्षक महासङ्घलाई आन्दोलनको स्वरुप फेर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।
करीव एक महिना लामो वैशाख १५ गतेसम्म आइपुग्दा कुनै न कुनै रुपमा तनहुँका अधिकांश ठुला विद्यालयहरु सञ्चालन भइसकेको पाइएको, आँबुखैरेनी गाउँपालिकाको अनुरोध, यहाँका अभिभावक तथा विद्यार्थीहरुको मागलाई समेत ध्यानमा राख्दै आज वैशाख १६ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन भएको विद्यालयले सूचित गरेको छ ।
लामो समय विद्यालय बन्द भएपछि तनहुँको व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै विज्ञप्ति निकालिएको थियो ।
व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले पढ्न पाउने नैसर्गिक अधिकार पालना गर्दै विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताउनुभयो । विद्यालय भर्नामा असर नहुने गरी सिर्जनात्मक आन्दोलन गर्नुपर्ने, सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्दै सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन नमिल्ने नगर प्रमुख बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालन गर्न सहयोग पुर्याउनुहुन र सबै अभिभावकलाई आफ्नो बालबालिका विद्यालयमा उपस्थित गराई पठनपाठन सञ्चालनमा सहयोग गर्न सूचित गरिएको उहाँले जानकारी दिनुभयो ।
शिक्षक आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्न र आफ्ना समस्याहरू ऐनमार्फत सम्बोधन होस् भन्ने विषय सान्दर्भिक रहेको उल्लेख गर्दै संसदबाट ऐन पारित गर्न निश्चित प्रक्रिया पार गर्नुपर्ने र त्यसले समय लिन सक्ने हुँदा पढाई अवरोध नगर्न सूचित गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
ऐन जारी नहुँदासम्म शिक्षकहरु विद्यालय सञ्चालनमा सहभागी नहुने सन्दर्भले सामुदायिक विद्यालयमा पढाउने अभिभावक र विद्याथीहरुलाई गम्भीर असर पर्ने देखिएकाले पढाई सञ्चालन गर्न सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिका सूचना अधिारी तथा शिक्षा शाखाका प्रमुख केदार आचार्यले सबै विद्यालय सञ्चालनमा आइसकेको बताउनुभयो । विद्यालय सञ्चालन भए तथा नभएको बारे अनुगमन भइरहेको र सबै विद्यालयलाई पढाई सञ्चालन गर्न सूचित गरिएको आचार्यले बताउनुभयो ।