• १९ असार २०८१, बुधबार

समितिमा सभापति बजेट छलफलपछि

blog

काठमाडौँ, जेठ २५ गते । प्रतिनिधि सभाका दुई विषयगत समिति सभापति चयन बजेट छलफलपछि हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि सभापति चयन प्रक्रिया अघि बढाउन लाग्नुभएको हो । 

सभामुख सापकोटाले सभापति चयन बजेट छलफलपछि हुने जानकारी मङ्गलबार कार्यव्यवस्था परामर्श समितिमा जानकारीसमेत दिनुभएको छ । प्रधानमन्त्री देउवाले लेखा समिति प्रतिपक्षलाई दिन तयार रहेको जानकारी पनि आफूलाई दिएको सापकोटाले जानकारीसमेत बैठकमा गराउनुभएको छ । 

बजेट छलफललगत्तै सभापति चयन प्रक्रिया अघि बढाउने जानकारी बैठकमा दिएको एमाले सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । पोखरेलले भन्नुभयो, “सभामुखज्यूले प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी गराउनुभयो । सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समितिको नेतृत्व चयन बजेट छलफलपछि अघि बढाउने पनि उहाँले हामीलाई जानकारी दिनभयो ।”

संसदीय अभ्यासमा लेखा समिति

 विपक्षी दलले नेतृत्व गर्नुपर्ने भए पनि अहिले सत्तापक्षकै नेतृत्वमा छ । कांग्रेसका भरतकुमार शाहले समितिको नेतृत्व गरिरहनुभएको छ । विपक्षी दल एमालेले सभापति हेरफेरको एजेन्डा बनाए पनि करिब एक वर्षदेखि सभापति फेरिएको छैन । 

एमालेको असन्तुष्टिका कारण समितिमा गणपूरक सङ्ख्या अभावमा बैठकसमेत बस्न सक्ने अवस्था बनेको छैन । वार्षिक प्रतिवेदन पारितका लागि अन्तिम पटक फागुनमा समिति बैठक 

बसेको थियो । यस्तै राज्य व्यवस्था पनि असोजदेखि नेतृत्वविहीन छ । सभापति शशी श्रेष्ठ मन्त्री नियुक्त भएपछि असोज २२ यता समिति नेतृत्वविहीन भएको हो । अन्तिम पटक असोज २० गते बैठक बसेको थियो । ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राख्ने तयारी भए पनि सभामुखकै आग्रहमा रोकिएको थियो । 

राष्ट्रिय सभामा पनि समिति सभापति चयन प्रक्रिया अघि बढाइएको छैन । चारवर्षे कार्यकाल पूरा गरेर एकै पटक तीन सभापति बाहिरिनुभएको थियो । राष्ट्रिय सभाको नियमावलीअनुसार एक तिहाई सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेरको व्यवस्था छ ।  

Author

नारायण काफ्ले