बैतडी समाचारदाता
बैतडी, वैशाख १६ गते । अपाङ्गता भएका बैतडीका ५६ वर्षीय गजेन्द्रसिंह कार्की आफ्नै साहस र हिम्मतले उद्यमी बन्नुभएको छ । बैतडीमै पहिलो पटक चप्पल उद्योग खोलेर उहाँ आफैँ मेसिन उपकरण चलाउँदै आत्मनिर्भर बन्नुभएको छ । उहाँ खुट्टाको अपाङ्ग हुनुहुन्छ । घरबाट हिँडेर कतै टाढा जान सक्नुहुन्न तर उहाँले उत्पादन गरेका चप्पल भने जिल्लाभरि बिक्री हुने गरेका छन् । दशरथ चन्द नगरपालिका–४, खहरेपिपलमा पाँच लाख रुपियाँमा चप्पल उद्योग स्थापना गरेर दैनिक एक सयदेखि दुई सय जोरसम्म चप्पल उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । भारतबाट कच्चा पदार्थ ल्याएर आफ्नै लगानीमा जिल्लामै पहिलो पटक चप्पल उद्योग स्थापना गर्न सफल भएको उहाँको भनाइ छ ।
खेतीकिसानी गर्न शारीरिक रूपले सक्षम हुन नसक्दा चप्पल उद्योग सञ्चालन गर्ने सोच जागेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच महिनाअघि मात्रै उद्योग स्थापना गरेको हुँ । जिल्लाबाहिरबाट दक्ष कारिगर बोलाएर मेसिन उपकरण चलाएँ । केही महिनापछि आफैँले सिकेँ । अहिले एक्लैले दैनिक सयदेखि दुई सय जोर चप्पल उत्पादन गर्दै छु । एक जोर चप्पल १८० रुपियाँमा बिक्री गर्दै आइरहेको छु ।”
उद्योग स्थापना गरेर घरपरिवार चलाउन सकेकोमा खुसी लागेको उहाँले अनुभव सुनाउनुभयो । उहाँका छोराछोरीसहित पाँच जनाको परिवार छ । अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिन पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो ।
गजेन्द्रसिंह कार्कीको एउटा खुट्टा राम्रोसँग नचले पनि ‘घ’ वर्गको अपाङ्गताको परिचयपत्र दिइएको छ । ‘घ’ वर्गकाले राज्यबाट भत्ता नपाउने व्यवस्थाका कारण परिचयपत्रबाहेक कुनै पनि सेवासुविधा नपाएको उहाँको गुनासो छ । डाक्टरले ‘ग’ वर्गमा पर्नुहुन्न भने पनि नगरपालिकाबाट परिचयपत्र बन्ने बेला ‘घ’ वर्गमा राखेको उहाँको भनाइ छ । भनसुन गरिदिने आफ्नो कुनै नेतासँग परिचय नभएका कारण भत्ता नपाउने वर्गमा राखिएको उहाँको गुनासो छ । आफू जस्तै अन्य व्यक्तिले भत्ता बुझेको देख्दा यस्तो अनुभूति भएको उहाँले बताउनुभयो । उहाँले भत्ता खानकै लागि मात्र किन भनसुनमा लाग्ने भनेर उद्योग स्थापना गर्ने साहस बटुलेर अघि बढेको बताउनुभयो । उद्योगलाई राज्यले सहयोग गरे आफूसँगै थप चार जनालाई रोजगारी दिन सक्ने कार्कीले बताउनुभयो ।