• १५ वैशाख २०८२, सोमबार

कांग्रेस सहमहामन्त्री यादवद्वारा झूठा आरोप लगाउनेलाई कारबाहीको माग

blog

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलगायतका कांग्रेसका नेता। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, वैशाख १४ गते।  नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमार्फत झूठो वक्तव्य दिएर नेपाली जनतालाई भ्रमित पार्न खोजेको दाबी गर्नुभएको छ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री यादवले गत चैत १५ गते काठमाडौँमा भएको राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट घटनामा कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनेर कांग्रेसलाई बदनाम गर्न खोजिएको दाबी गर्दै उहाँले यस्ता प्रमाणबिनाको झूठा आरोप लगाउनेलाई कारबाहीको माग समेत गर्नुभएको हो। 

उहाँले भन्नुभयो,“मैले सबै सहमहामन्त्रीसँग कुराकानी गरे। कुनै पनि सहमहामन्त्रीका छोराछोरी उक्त घटनामा संलग्न छैनन्।” झूठो मुद्दा लिएर राजतन्त्रको वकालत गरिरहनु भएको छ। महत्त्व नभएको र जनताले अस्वीकृत गरेको पार्टी बोकेर नेपाली जनतालाई फेरि भ्रममा पार्न खोजिएको छ, सहमहामन्त्री यादवले बताउनुभयो।

यादवले लिङ्देनले दिएको वक्तव्य कपोकल्पित र झूठो भएको दाबी गर्दै भन्नुभयो, “यदि कसैको छोरा संलग्न भएको प्रमाण छ भने नाम किटानसहित सार्वजनिक गर्नुपर्छ। प्रमाणसहित आएको खण्डमा कानुनी कारबाही गर्छौ। तर आधारविहीन आरोप लगाउन पाइँदैन।”

उहाँले संविधान अनुसार झूठा आरोप लगाउनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग समेत गर्नुभयो। सञ्चारमाध्यममा आधारविहीन रूपमा प्रसारित समाचारहरूलाई समेत खण्डन गर्दै यादवले तथ्य प्रमाणसहित मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

गत चैत १५ गतेको आन्दोलनपछि काठमाडौँमा भएको लुटपाटमा लिङदेनले कांग्रेसका सहमहामन्त्रीका छोरा संलग्न भएको कुरा सदनमा उठाएपछि यो विवाद उत्पन्न भएको हो। 

यस्तै उहाँले पत्रकारको प्रश्नमा अहिलेको सत्ता गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेको उल्लेख गर्नुभयो। उहाँले सरकार चाँडै ढल्ने भन्ने हल्लाहरू निराधार रहेको जिकिर गर्दै सरकारलाई अस्थिर बनाउने प्रयास विफल हुने दाबी समेत गर्नुभयो।