• १४ वैशाख २०८२, आइतबार

हराउँदै हलगोरु पाल्ने चलन

blog

हलगोरुले जमिन जोत्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, वैशाख १४ गते । बाजुरामा पछिल्लो समय गाउँमा हलगोरु पाल्ने चलन विस्तारै हराउँदै गएको छ । यहाँका प्रत्येक किसानले खेती लगाउनका लागि घर घरमा हलगोरु पाल्ने गर्थे । 

अहिले यहाँका किसानले खेती जोत्नका लागि हाते ट्याक्टर प्रयोग गर्न थालेपछि हलगोरु पाल्ने चलन हराउँदै गएको हो । हाते ट्याक्टरले खेती गर्न थालेपछि उत्पादनमा पनि कमी आएको र लागत पनि बढेको हिमाली गाउँपालिका–६, धिमका मोहन रावतले बताउनुभयो । 

हाते ट्याक्टरले जोत्दा दुई इन्च जति गहिरो जोतिन्छ, गोरुले कम्तीमा पनि आठदेखि १० इन्ची जमिन जोतिन्छ । यसरी जमिन जोतिएपछि उत्पादन पनि राम्रो हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख जसिराम साहनीले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “पहिला गोरुले राम्रोसँग जमिन जोतेर अर्गानिक मल प्रयोग गरेर धेरै उत्पादन हुन्थ्यो । अहिले रासायनिक मलको प्रयोग गरेर उत्पादन हुने गरेको छ । यहाँका गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै सहरदेखि धमाधम हाते ट्याक्टर  गाउँ भित्रिन थालेपछि हलगोरु पनि बिस्तारै हराउँदै गएको उहाँले बताउनुभयो । 

बाजुराको हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिका अधिकांश ठाउँमा हलोगोरु हराउँदै गएको छ । यहाँका गाउँबस्तीमा पहिला घरमा देखिने गोरु अहिले छैन । गाउँमा सडक पुगेपछि खाद्यान्न अपुग नहुनु तथा गाईगोरु पाल्न निकै अल्छी गर्नाले पछिल्लो समय यहाँका गाई, भैँसी राख्न बनाएका गोठसमेत खाली हुन थालेका छन् ।

गाईगोरु पाल्न छाडेपछि अहिले यहाँका अधिकांश जमिन बाँझो हुँदै गएका छन् । यहाँका स्थानीय पनि कामको खोजीमा दैनिक भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।

बाजुरामा दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छन् । यसमध्ये छ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने  १.९ मे टन/हेक्टर धान उत्पादकत्व हुने गरेको छ ।