पुष्कर भण्डारी
डडेल्धुरा, जेठ ११ गते । तत्कालीन अवस्थामा सुदूरपश्चिमको सबैभन्दा ठुलो करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी फुटेर जीर्ण भएको १५ वर्षभन्दा बढी भयो । पञ्चायती व्यवस्था वि.सं. २०२९ सालमा निर्मित पोखरी पूर्ण रुपमा कहिल्यै सञ्चालनमा आएन । निर्माण र पुनर्निर्माण गरी दुई पटक सञ्चालनमा ल्याइए पनि फुटेर जीर्ण बनेकै डेढ दशकभन्दा बढी भयो । अमरगढी नगरपालिका ७ का एक दर्जन गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी प्रयोगमै नआई जीर्ण बनेको हो ।
चालुआर्थिक वर्षमा यस पोखरीलाई बहुउपयोगी बनाउने भन्दै पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग एक करोड रकम माग गरिएको थियो । गत मङ्सिर ४ गते एक निजी कम्पनीका इञ्जिनियर नै पोखरा पुगाई सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी आफैँले पोखरी बहुउपयोगी पुनर्निर्माण गरिने भन्दै नापजोखसमेत गर्नुभएको थियो ।
प्रदेश सरकारले ३० लाख रकम विनियोजन गरेको र बाँकी रकम हिँउदे अधिवेशनबाट थप्ने आश्वासन मिलेको भन्दै पोखरी नापजाँच गर्नु गरेको जानकारी उहाँले दिनुभएको थियो । तर हाल उक्त रकमसमेत घटेर १५ लाख मात्रै आएपछि स्थानीय जीर्ण पोखरीको छेउमा अर्काे पोखरी निर्माण गर्न सम्झौता गर्ने तयारीमा छन् ।
पोखरा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर कैनीका अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कर्यालय डडेल्धुराको १५ लाख बजेटको योजनामा करिब डेढ लाख लिटर क्षमताको पोखरी निर्माणका लागि आमभेला बोलाई सम्झौताको तयारी थालिएको छ । हाल जीर्ण बनेको ठुलो पोखरीको छेउमा करिब ५० हजार लिटर क्षमताको पोखरीबाट यस क्षेत्रमा २० वटा धारा बनाई स्थानीयहरुले सिँचाइ गर्दै आइरहेका छन् । अब उक्त सानो पोखरीभन्दा दुई गुणा ठुलो पोखरी निर्माण गरिने भएकाले आवश्यकताका आधारमा धाराहरुसमेत थप गर्ने निर्णय समितिले गरेको उहाँले जानकारी दिनुभयो ।
जीर्ण सुनपोखरी उद्देश्य अनुसार सञ्चालन नआउँदै रित्तो रहँदा पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रकमको टेण्डर भएको पोखरीका तत्कालीन अध्यक्ष हरिलाल पार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी निर्माण भएपछि पोखरा बजार आसपासका कैनी टोल, भाटागाउँ र सिरोला गाउँको जमिनमा सिँचाइ गरिँदै आएको थियो ।
२०६६ साल आसोज महिनाको अबिरल वर्षापछि पोखरीमा दरार आई फुट्यो । त्यस यता जीर्ण बनेको पोखरी निर्माणका लागि गत आर्थिक वर्षमा पाँच लाख रकम बजेट परेको थियो । तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भएको थियो ।