• ११ असार २०८२, बुधबार

उत्प्रेरणाले संस्थागत विकास

blog

संस्था निश्चित लक्ष्य प्राप्तिका लागि विभिन्न उद्देश्यले प्रेरित भइ गठन गरिएको विभिन्न विचार, धारणा, ज्ञान र सिप, योग्यता भएका व्यक्तिको संयोग हो । यसका निर्धारित लक्ष्य आफँैमा कार्यान्वयन हुँदैनन् त्यसको कार्यान्वयनमा मानव संसाधनको उल्लेखनीय र अग्रणी भूमिका रहन्छ । संस्था एउटा निर्जीव वस्तु जस्तो देखिए पनि यसलाई जीवित र रक्त सञ्चार गराउने दायित्व तिनै मानव संसाधनको कार्यसम्पादनमा निर्भर हुन्छ । यो कहिल्यै एकल नेतृत्वबाट परिचालित नभई फरक फरक धारणा, स्वभाव, विचार र नेतृत्व शैलीबाट अगाडि बढ्छ यद्यपि संस्थाको गन्तव्य निर्धारित भएकाले त्यहाँसम्म पुग्न गतिशील बनाउने माध्यम उत्प्रेरणा नै हो । उत्प्रेरणा नितान्त मनोवैज्ञानिक प्रक्रिया हो, जहाँ सन्तुष्टिले नै मानवलाई लक्ष्य प्राप्तितर्फ अभिप्रेरित गर्छ । 

संस्थाको उद्देश्य र लक्ष्य प्राप्तिका लागि योग्य, कर्तव्यनिष्ठ र लगनशील कर्मचारीको निर्णायक भूमिकामार्फत मानव कल्याण र समग्र रूपमा सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक विकासतर्फ उन्मुख हुन्छन् । कर्मचारी कुनै पनि संस्थाका अभिन्न अङ्ग हुन्, जसको सहभागिताबिना संस्था जीवित रहन सक्दैन । कर्मचारीको सन्तुष्टिसँग संस्थाको सफलता जोडिएकाले कामप्रतिको सन्तुष्टि मानवीय स्वभाव, आचरण, व्यवहार, कामप्रतिको अभिरुचि, उत्पादकत्व र समग्र संस्थाको विकासका लागि उत्प्रेरणाको महìवपूर्ण भूमिका रहन्छ । कर्मचारीको कार्यसम्पादन उसको क्षमता र उत्प्रेरणाको संयोग भएकाले उनीहरूमा रहेको अन्तरनिहित सिप र क्षमता प्रयोग गर्न कामप्रतिको इच्छाशक्ति निसर्त आधार हो । उच्च प्रतिफलका लागि उत्प्रेरणा एउटा प्रेरक र अनिवार्य तत्व हो । 

संस्थामा फरक मतका व्यक्ति भए पनि समग्रमा सबैको एउटै मार्ग संस्थाको गन्तव्य हुन्छ । यसको प्रणाली, त्यसको पालना, निरन्तरता र भूमिकाले यसलाई मजबुत बनाउँछ । जुन जातको बिरुवा रोप्यो, हुर्कायो, मलजल गरे अनुसार प्रतिफल प्राप्त हुन्छ । संस्था स्थापना गर्नासाथ सबै कुरा स्वचालित हुँदैनन्, त्यसलाई गतिशील बनाउन कर्मचारीको गुण, व्यक्तित्व, बानी व्यवहार, क्षमता महत्वपूर्ण हुन्छ । संस्थाका कर्मचारीको भूमिका, विद्यमान अवस्था, आकार र बौद्धिक विचारले संस्थाको प्रणाली विकास गर्न मद्दत पु¥याउँछ । संस्था कहिल्यै पनि खराब हुँदैन, स्पष्ट लक्ष्य हुन्छ, यद्यपि व्यक्तिले बनाउने धारणा, सिकाइ, बुझाइ, उत्प्रेरणा र निर्णायक क्षमताले संस्थागत प्रक्रिया कमजोर वा मजबुत हुँदै जान्छ । संस्थाका सदस्यको 

सञ्चारशैली, नेतृत्वशैली, नीति, रणनीति, कार्यक्रम, आपसी द्वन्द्व, शक्ति र यसको बाँडफाँट टिम वर्कले संस्थाको प्रक्रिया निर्देशित मात्र नभई यसको स्वामित्वमा रहेको प्रणालीले अपेक्षित प्रतिफल अनुमान गर्न सकिन्छ । 

कामको प्रकृति र निरन्तर रूपमा संस्था मजबुत बनाउन गरिएका प्रयासबाट नै संस्था कहाँ पुग्छ र कस्तो प्रतिफल आउँछ भनेर आकलन गरिन्छ, जुन संलग्न कर्मचारीको सन्तुष्टि, क्षमता विकास, वृत्तिविकासमा निर्भर हुन्छ । यस विपरीत संस्थामा काम गर्ने कर्मचारीको पलायन, अनुपस्थिति बेवास्था, कमजोर कार्यसम्पादन संस्था सही दिशामा नरहेको सङ्केत हुन सक्छ । यस्ता नकारात्मक सङ्केतलाई समयमा व्यवस्थापन गर्न सकिएन भने यसले समग्र संस्था नै ध्वस्त बनाउने हुँदा नेतृत्व वर्ग सदैव सचेत रहनु पर्छ । त्यसैले संस्थाको कार्यशैली, नेतृत्व, प्रभावकारी सञ्चार, द्वन्द्व व्यवस्थापन समयमा गर्न सक्नु नै संस्थागत विकास हो ।

संस्थामा कार्यरत कर्मचारीको धारणा, संस्थाप्रतिको झुकाव, लक्ष्य, परिलक्षित सूचक र कामप्रतिको सन्तुष्टि कार्यसम्पादन मापनका आधार हुन् । कार्यसम्पादन असल वा खराब हुन सक्छ । यसमा कर्मचारीको क्षमता, उत्प्रेरणा, निरन्तरको सिकाइ र प्रयोगको प्रभाव अनुसारको प्रतिफल प्राप्त हुन्छ । कर्मचारीको आवश्यकता, उनीहरूको भूमिका, कार्य विभाजन, पारिश्रमिक, कामप्रतिको ज्ञान, सिप र धारणा, स्रोतसाधनको उपलब्धताको आधारमा नै कार्यसम्पादन अपेक्षित थियो थिएन भनी अनुमान गर्ने गरिन्छ । कार्यसम्पादन गुणात्मक र सङ्ख्यात्मक दुवै किसिमको हुन सक्छ । यो सदैव सापेक्षित हुन्छ, सकारात्मक कार्यसम्पादनको मूल्याङ्कनका आधारमा नै कर्मचारीको वृत्ति विकास, पदोन्नति र समग्र रूपमा सङ्गठन पुरस्कृत हुने गर्छ । पुरस्कृत गर्नु पनि संस्थागत विकासको एउटा आधार हो । 

कर्मचारीलाई समयसापेक्ष ज्ञान, सिप र धारणामा निखार ल्याउने खालका तालिम, क्षमता विकासका गतिविधि उपलब्ध गराउन सकेमा कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्न सक्छ । गुणस्तरीय कार्यसम्पादनका लागि उचित कर्मचारीको छनोट, ज्ञान र सिपमा लगानी, निरन्तर सुपरीवेक्षण, अनुगमन र मूल्याङ्कन गर्न सकिएमा तोकिएको अवधिभित्र अपेक्षित लाभ प्राप्त गरी दीर्घकालसम्म संस्था मजबुत हुन्छ किनकि गुणस्तरीय सेवामा गरिएको लगानी जहिले पनि कम नै हुने गर्छ ।

उत्प्रेरणा नितान्त मनोवैज्ञानिक अवस्था हो । उत्प्रेरणाबिना न व्यक्तिगत न संस्थाको विकास हुन्छ । कर्मचारीको मनभित्रका उतार चढाव, आवेग, संवेग, स्वीकृति, अस्वीकृति, कामप्रतिको सन्तुष्टि, आदिले उत्प्रेरित गरिएमा प्रतिफल पनि अपेक्षा गरिएभन्दा बढी नै हुन्छ । उत्प्रेरणा जहिले पनि आवश्यकताबाट प्रेरित हुने हुँदा न्यूनतम आवश्यकता परिपूर्ति, प्रशंसा, पुरस्कार, सञ्चार, जिम्मेवारी बाँडफाँटले सदैव असल काम गर्न उत्साहित गर्छ । संस्थाको लक्ष्यलाई मूल मर्म बनाएर हिँड्न मात्र सकियो भने कर्मचारीको मनोबल बढाउनमा गरिएका प्रयास यथेष्ट हुन्छन् । मनोबल बढाउनका लागि सबैभन्दा मुख्य आवश्यकताको परिपूर्ति हो, सायद त्यो समयसापेक्ष जीवनयापन गर्नका लागि राम्रो तलब होस्, जसले गाँस, बास र कपासको राम्रो प्रबन्ध गर्न पुगोस् । 

मानिस आफैँमा विवेकशील र मानव युगको एउटा उत्कृष्ट वर्ग हो, जसले सही र गलत छुट्याउन सक्छ, सायद अन्य गुण अन्य प्राणीमा पनि हुन्छन् । मानिसले जहिले पनि आत्मसम्मानको अपेक्षा गर्छ, जसलाई पैसामा तुलना गर्नै सकिन्न । कार्यस्थलमा तीन वटा तत्व उपलब्धि, अधिकार र सम्बन्धन कायम रह्यो भने कामप्रतिको गतिशीलता अपेक्षित तहसम्म बढ्दै जान्छ । यसका अतिरिक्त समानता, प्रशंसा, पुरस्कार र दण्ड, संस्थाको कार्यशैली र व्यवहार, सिर्जनशीलताप्रतिको स्वीकृति जस्ता तìवले सदैव जोसिलो, जिम्मेवार, लक्ष्यप्रति लगनशील, व्यक्ति बनाई प्रतिफल अधिकतम हुन्छ । मानिस कामको भारले कहिल्यै पनि थिचिन्न । काम गर्ने संस्थाको वातावरण, कामको प्रकृति, उसको अधिकार, पारिश्रमिक, जवाफदेहिता, जिम्मेवारीपन उसको आत्मसम्मानलाई स्वीकार गर्न सकियो भने प्रतिफल अधिकतम भई संस्थागत विकास हुन जान्छ । संस्थागत विकासभित्र धेरै विषय वस्तु अन्तर्निहित छन्, लक्ष्य, स्वरूप, कर्मचारी, वृत्ति विकास, तालिम, अनुगमन, मूल्याङ्कन, अवसर, अन्तरव्यक्ति सञ्चार, जिम्मेवारीपन । संस्थागत विकास भए मात्र यसका कर्मचारीको भलो हुन्छ । 

वर्तमान नितान्त स्वार्थका अल्झेको अवस्थामा यी कुरा अपत्यारिला लाग्न सक्छन् तर अन्तिम सत्य यही नै हो । जब देश बलियो हुन्छ, त्यहाँ जनता बलिया हुन्छन् । जनता बलियो हुने प्रयास गर्छन् भने देश अपाङ्गता हुन्छ र अन्तत जनताको अवस्था पनि कमजोर हुन्छ । संस्थागत विकासभित्र जहिले पनि परिवर्तनको अपेक्षा गरिएको हुन्छ । नागरिकबिनाको संस्था संस्थागत हुन्न भने संस्थागत विकास नभई नागरिकको विकास असम्भव प्रायः छ । हामी सदैव लक्ष्य केन्द्रित हुन सक्यौँ भने सोचे जस्तो संस्था विकसित हुन्छ, देश विकास हुन्छ, सबै हाँसीखुसी रमाउन पाउँछन् र उनीहरूको हाँसोमा सन्तुष्टि देख्न पाइन्छ, जुन नै कर्मचारी उत्प्रेरणाको सफलता हो । 

संस्थागत विकास मानवीय क्रियाकलापमा निर्भर छ । संस्थागत विकासको उद्देश्य विकसित, अनुशासित, गतिशील संस्थाको निर्माण गर्नु हो । यसका लागि संस्थाको दूरदृष्टि, लक्ष्य, उद्देश्य, नीति, रणनीति, व्रिmयाकलाप स्पष्ट हुनु पर्छ । यसैको आधारमा संस्थागत स्वरूपको निर्माण, जिम्मेवारीको बाँडफाँट, प्रेरित गर्नेखालको नेतृत्वशैली, निर्णय क्षमता मजबुत र दीर्घकालीन हुन्छ । जहाँ कर्मचारीको आवश्यकता, भावना, योजना र कार्य सम्पादनको कदर हुन्छ, त्यहाँ काम गर्नुको मज्जा नै अर्कै हुन्छ, चाहे सुविधा र वृत्ति विकासका अवसर कम नै किन नहुन् । संस्थागत विकासको मेरुदण्ड भनेको सुशासन हो, जसले सुन्दर संस्थाको परिकल्पना गर्छ, जुन सदैव दिगो र गौरवशाली हुन्छ ।