चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १३ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो ।
चिया तथा कफी विकास बोर्ड लालीखर्क पाँचथरको सहयोगमा गाउँपालिकाले कफी खेतीका लागि सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाभित्र कफी खेती विस्तार गरी स्थानीय कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित सम्भाव्यता अध्ययन गरिएको हो । यहाँको भू–वनावट, हावापानी लगायतका अवस्थाबारे बोर्डका विज्ञ टोलीबाट अध्ययन भएको र कफी खेती गर्न सकिने क्षेत्र तथा जमिनको पहिचान पनि भइसकेको अध्यक्ष वनेमले बताउनुभयो ।
गाउँपालिकाका प्रत्येक वडामा गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डले सार्वजनिक गरेको र सबै वडामा कफी खेती विस्तार गर्न सकिने अवस्था रहेको पाइएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार भौगोलिक बनावट, हावापानी र हाल सीमित ठाउँमा गरिँदै आएको कफी खेतीसमेतको अध्ययन गरी खेती विस्तार गर्न सकिने क्षेत्रको पहिचान गरिएको छ ।
प्रत्येक वडाको सम्भाव्यता अध्ययन अनुसार वडा १ ढुङ्गेसाँघुको एक हजार २०० मिटर उचाइ रहेको तेल्लाबुङ क्षेत्रमा कफी खेती गर्न उपयुक्त देखिएको छ । यस्तै वडा २ ढुङ्गेसाँघुकै एक हजार १५० मिटरसम्म उचाइ रहेको तेम्बे टोल, एक हजार ३०० मिटर उचाई रहेको हात्तीखावा बाटो मुनी र हाङथाना तल्लो भागमा कफी खेतीका लागि उपयुक्त क्षेत्र भएको प्रतिवेदनमा औंल्याइएको छ ।
त्यस्तै, वडा ३ साँघुको माङ्हिम टोल (एक हजार तीन सयदेखि चार सय मिटर उचाइ) र सोही बराबरको उचाइ रहेको भट्टराई टोल क्षेत्रमा पनि कफी खेतीका लागि उपयुक्त रहेको पाइएको छ । वडा ४ साँघुकै घिमिरे टोलदेखि तल्लो भागमा कफी खेती विस्तार गर्नलाई उपयुक्त क्षेत्र भएको प्रतिवेदनमा औंल्याइएको छ । यसैगरी वडा ५ फाकुम्बाको एक हजार तीन सयदेखि चार सय ५० मिटरसम्म उचाई रहेको नुमलोक र घोडेटार क्षेत्र पनि कफी खेतीका लागि उपयुक्त देखिएको छ ।
गाउँपालिकाको वडा ६ फाकुम्बाअन्तर्गत एक हजार दुई सयदेखि तीन सय ५० मिटरसम्म उचाई रहेको हाम्फाबुङ र साङ्लुपा क्षेत्र पनि कफी खेती विस्तार गर्नलाई उपयुक्त ठाउँ भएको सम्भाव्यता अध्ययनबाट पुष्टि भएको छ । विज्ञको अध्ययन तथा सल्लाह बिना कृषकको इच्छाअनुसार कफी खेती गर्दा प्रतिफल नआउने र किसानले निरास हुनुपर्ने अवस्था आउने भएकाले सम्भाव्यता अध्ययनका लागि चिया तथा कफी विकास बोर्डलाई अनुरोध गरिएको अध्यक्ष वनेमको भनाइ छ ।
यता सम्भाव्यता अध्ययनपछि कफी खेतीका लागि उपयुक्त जग्गा पहिचान भएका क्षेत्रका किसानलाई आवश्यक छाहारीको तयारीसहित व्यावसायिक खेती सुरु गर्न पनि अध्यक्ष वनेमले आग्रह गर्नुभएको छ । व्यावसायिक खेती गर्ने किसानलाई कफीको बिरुवा लगायतमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मैवाखोला गाउँपालिकासहित जिल्लाका अन्य क्षेत्रका किसानहरू कफी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।