टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १३ गते । एक हजार ७५० मिटर अग्लो पहाडको माथिल्लो भागमा रहेको सुन्दर र रमणीय प्राकृतिक टिमुरे ताल पर्यटकीय दृष्टिकोणले निकै मनमोहक छ । यो ताल करिव तीन मिटर गहिरो र चार रोपनी क्षेत्रफलमा फैलिएको छ ।
स्थानीयका अनुसार ताल बाहै्र महिना टम्म भरिन्थ्यो । जति लामो खडेरीमा पनि तालको पानी घट्दैनथ्यो भन्ने पुस्ता अझै छन् तर २०७२ सालको भूकम्पपछि तालमा बर्सेनि पानी घट्न थालेको छ ।
टिमुरे ताल जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य हो । टिमुरेबाट उत्तरका अग्ला हिमशृङ्खलासहित बेँसीका फाँट र हरिया बस्ती दृश्यावलोकन गर्न सकिन्छ । चन्द्रकोट गाउँपालिकाले टिमुरेको पर्यटकीय आर्कषण बढाउन नजिकैको रेमी गाउँमा होमस्टेसमेत सञ्चालन गरेको छ । पानी सुक्दै गएपछि पहिचान नै गुम्ने खतरा रहेको स्थानीय अगुवा लीलबहादुर पुनले बताउनुभयो ।
भूकम्पपछि दरार बन्दा पानी सुक्दै जान थालेको पुनको भनाइ छ । ताल सुक्दै जान थालेपछि संरक्षणका विभिन्न प्रयास भए पनि सोचे अनुसार नभएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
ताल संरक्षण तथा विकास कार्यक्रम र जलाधार विकासमार्फत वृक्षरोपण र रिचार्ज पोखरी निर्माणलगायतका काम अगाडि बढाए पनि प्राकृतिक रूपमै क्षति भएपछि अप्ठ्यारो भइरहेको केसीले बताउनुभयो । केसीले भूकम्पपछि पानी दब्दै गएको र जलवायु प्रभावका कारण पनि नियमित वर्षा नहुँदा पानी घट्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार पहिले पहिले धेरै सङ्ख्यामा भैँसी तालमा आहाल खेल्थे । जसले आफैँ पनि छिद्र पुरिने गरेका थिए । अहिले गाउँमा कसैले पशुपालन नगर्दा अर्को समस्या छ । उहाँले भन्नुभयो, “वृक्षरोपण र रिचार्ज पोखरीको काम अगाडि बढेको छ । प्रमुख पर्यटकीय गन्तव्य जोगाउन सकेको गरेका छौँ ।”
बृहत् जलाधार व्यवस्थापन केन्द्र कास्कीमार्फत ताल संरक्षणका लागि एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । अहिले तालको माथिल्लो भागमा रिचार्ज पोखरी निर्माणको काम भइरहेको केन्द्रका रेन्जर कालिकाप्रसाद चौधरीले बताउनुभयो । तालनजिक व्यक्तिगत जग्गा भएकाले धेरै पोखरी निर्माण गर्न नसकिएकाले समय पुगे पोखरीसँगै केही पर्यटकीय संरचना निर्माण गर्ने चौधरीले बताउनुभयो । उहाँले जलवायु परिवर्तन, आकासे पानीको भरमा ताल र केही मात्रामा भूकम्पको असरले पनि ताल सुक्न थालेको हुन सक्ने भएकाले वातावरणविद्बाट तथ्यपूर्ण अध्ययन आवश्यक रहेको बताउनुभयो । शान्तिपुर बजारबाट सात किलोमिटर उकालो गाडीको यात्रापछि टिमुरे पुगिन्छ । तालसँगै टिमुरेबाट सूर्योदय र सूर्यास्त, उत्तरका मनमोहक हिमशृङ्खला र टिमुरे क्षेत्र वरिपरिको वातावरण निकै आकर्षक छ । चन्द्रकोट गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य भएर पनि सोचे अनुसारको विकास भएको छैन ।
पर्यटकलाई थप आकर्षण गर्न केही वर्ष टिमुरे तालमा डुङ्गा सञ्चालन पनि गरियो । स्थानीय छ जना युवाले ठुलो लगानी गरेर सामूहिक रूपमा डुङ्गासँगै, रिसोर्ट, गुलेली पिङ र अन्य पर्यटकीय पूर्वाधार निर्माण अगाडि बढाए पनि निरन्तरता दिन सकेनन् ।