• १३ असोज २०८१, आइतबार

चार दिनदेखि शव घटनास्थलमै

blog

शिवराज ढुंगाना 

अछाम, जेठ २४ गते । हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको शव चार दिनसम्म घटनास्थलमै छ । हत्यारालाई कारबाहीको सुनिश्चितता नभएसम्म पीडित पक्षले घटनास्थलबाट शव नठाउन मानेपछि हालसम्म शवको पोष्टमार्टम हुनसकेको छैन । 

प्रहरी र स्थानीय चार दिनदेखि घटनास्थलमै कुरिरहेका छन् भने किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिको गिरफ्तार भए मात्र शव उठाउने पीडित पक्षको भनाइ छ ।  

गएको मङ्गलबार राती प्रहरी र स्थानीयको धरपकडपछि हराएका भनिएका विनोद शनिबार बिहान मृत अवस्थामा पञ्चदेवल क्याम्पस नजिकको खोचमा मृत अवस्थामा भेटिएका थिए । शव भेटिएको दिन शनिबारबाट मध्यपहाडी सडकको विनायक खण्डमा यातायात सेवा अवरुद्ध गरिएको छ । विनायकसँगै सदरमुकाम मङ्गलसेनमा पीडितको न्यायका लागि नाराबाजी भइरहेको छ । 

घटनास्थलमा अछामसँगै डोटी, बाजुराबाट सुरक्षाकर्मी ल्याएर परिचालन गरिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । यस्तै, धनगढीबाट तालिमप्राप्त कुकुरसहितको सीआइबी टोली आइतबारबाट घटनाको अनुसन्धान गरिरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीका एसएसपी जनकराज पाण्डेको टोलीसमेत अछाम पुग्नुभएको छ । 

अनुसन्धानमा एसएसपी खटिए

हत्या प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीका एसएसपी जनकराज पाण्डे टोली अछाम आउनुभएको छ । घटनाको बारेमा तथ्यगत अनुसन्धानका लागि पाण्डेको टोली महेन्द्रनगरबाट अछाम आइपुगेको हो । “घटनाको वास्तविक छानबिनका लागि म यहाँ (अछाम) आएको छु, सबैको सहयोग भएमात्र अनुसन्धानमा सहजता हुनेछ ।” एसएसपी पाण्डेको भनाइ छ । 

घटनाको अनुसन्धानका लागि सोमबार नै घनगढीबाट कुकुरसहितको सीआइबीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । पीडित पक्षले हत्यामा संलग्न व्यक्तिलाई गिरफ्तार नगरेसम्म शव उठान नदिएपछि शनिबारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले शव कुरिरहेका छन् भने शवको पोष्टमार्टम हुनसकेको छैन । 

घटनापछि जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी रविराज थपलिया धनगढी तानिनुभएको छ । विनायक क्षेत्रमा  कार्यरत रहेका सबै प्रहरीलाई अन्य प्रहरी चौकीमा सारिएको छ भने बाजुरा, डोटी र सुर्खेतबाट प्रहरी ल्याएर विनायक क्षेत्रमा खटाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो ।