• १२ वैशाख २०८२, शुक्रबार

ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैनः प्रमुख महर्जन

blog

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन २०७२ सालमा गएको भूकम्पको संस्मरणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

ललितपुर, वैशाख १२ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ललितपुर महानगरपालिकाको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गर्नुभयो । उहाँले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताउनुभयो । नेपालमा रहेका दुई सय ९३ वटा पालिकामध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरूमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गर्नुभयो ।

यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गर्नुभयो । कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्तदुरुस्तका साथ अघि बढेको बताउनुभयो ।

प्रमुख महर्जनले भन्नुभयो, ‘‘ललितपुर महानगरपालिकाले विकास निर्माण गर्दाखेरी काम भनेको यो चाहीँ एउटा रेगुलर बिजनेस हो । यो चाहीँ भई नै रहन्छ । कसैले रोकेर रोकिँदैन । तर जब आपत विपद् आइपर्छ त्यो बेलामा हामीले अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्छ । तर यो भन्दै गर्दा मैले त दाबी गर्ने गरेको छु । नेपालमा दुई सय ९३ वटा पालिकाहरू छन् । दुई सय ९३ वटा स्थानीय पालिकामध्ये विपद्को व्यवस्थापन, विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरूमा ललितपुर महानगरपालिका हामी अब्बल छौँ भनेर मैले दाबी गरिरहेको छु ।’’

प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गर्नुभयो ।