ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १२ गते । जिल्ला हुलाक कार्यालय म्याग्दीले हुलाक सेवालाई छिटोछरितो बनाएको छ । चिठी–पत्र र पार्सल सम्बन्धित ठाउँमा पुग्न कम्तीमा पाँचदेखि दस दिन लाग्नेमा अबदेखि भने एकैदिनमा पुग्ने व्यवस्था मिलाइएको छ । हुलाक कार्यालयले बिहीबारदेखि डाँक ओसार–पसार गर्न यातायातको साधन प्रयोग गरेर बेनीदेखि जोमसोमसम्म चिठी–पत्र र पार्सल एकैदिनमा पुर्याएको हो ।
हुलाक सेवालाई विश्वासनीय र छिटोछरितो बनाउने उद्देश्यले चिठी–पत्र र पार्सल सम्बन्धित स्थानमा एकैदिन पुग्ने व्यवस्था मिलाइएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । बेनीदेखि गाउँपालिका केन्द्र, मुस्ताङ, बेनीदेखि पोखरा र पोखरादेखि बेनी हुँदै जोमसोम एकै दिनमा चिठी–पत्र र पार्सल पुग्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । बिहीबार बेनीमा दर्ता भएका चिठी–पत्र र पार्सल एकैदिन जोमसोम पुगेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पोखरादेखि जोमसोमसम्म यस अघि चिठीपत्र पुग्न कम्तीमा दस दिन समय लाग्ने गरेको थियो । पोखरा, बागलुङ, बेनी, दाना, टुकुचे, थासाङ हुँदै चिठी–पत्र जोमसोम पुग्न दस दिन समय र आठ जना जनशक्ति लाग्ने गरेको थियो । भने अहिले पोखरा र बेनीबाट एकैदिनमा जोमसोम चिठी–पत्र पुग्ने भएका छन् ।’’
हुलाक सेवालाई विश्वासनीय, छिटोछरितो र प्रभावकारी बनाउन जिल्ला हुलाक कार्यालय म्याग्दीले मुस्ताङ हुलाकसँग हालै मात्र समन्वय बैठक सम्पन्न गरेको उहाँले बताउनुभयो ।
हुलाक निर्देशनालय पोखराले पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग डाँकलाई सहज तवरबाट ओसार–पसार गर्न सम्झौता गरेको उहाँले बताउनुभयो । यातायातको साधनबाट डाँक पुर्याउँदा जनशक्ति र समयको बचत हुनुका साथै पार्सल समयमा पुग्ने उहाँले बताउनुभयो ।
पोखराबाट बागलुङ हुँदै बेनी आएका चिठी–पत्रहरु यसअघि हल्काराले बोकेर विभिन्न स्थानमा भएका हुलाक कार्यालयहरू मार्फत जोमसोम पुर्याउन आठ जना जनशक्ति परिचालन हुने गरेको कार्यालय प्रमुख थापाले बताउनुभयो । अब भने गाडीले सिधै जोमसोम पुर्याउने भएकाले जनशक्ति र समयको बचत हुने उहाँले बताउनुभयो । डाँक बहाकका रुपमा काम गर्ने जनशक्तिले घरघरमा र कार्यालयमा चिठी–पत्र र पार्सल पुर्याउने काममा लाग्ने भएकाले हुलाक सेवाप्रति नागरिकको विश्वास बढ्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार जोमसोमका साथै म्याग्दीको बेनीदेखि गाउँपालिका केन्द्रहरूमा पनि चिठी–पत्र र पार्सल एकैदिन पुग्ने व्यवस्था मिलाइएको छ । जिल्ला हुलाक कार्यालयले म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिसँग डाँक बोक्ने सम्झौता गरेर सेवा प्रवाह गर्न थालिएको हुलाक कार्यालयका प्रमुख थापाले बताउनुभयो ।
‘‘अबदेखि जुनसुकै चिठी–पत्र र पार्सलहरू बेनीस्थित हुलाक कार्यालयमा दर्ता भएको दिनमै गाउँपालिका केन्द्रमा रहेका हुलाक कार्यालयहरूमा पुग्ने छ ।’’ उहाँले भन्नुभयो ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको हुलाक कार्यालयलाई गाउँपालिका केन्द्र पोखरेबगर र रघुगङ्गाको वडा नम्बर २ भगवतीमा रहेको हुलाक कार्यालयलाई गाउँपालिका केन्द्र मौवाफाँटमा स्थानान्तरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । मालिका र मङ्गला गाउँपालिकाको केन्द्रमा भने यसअघि नै हुलाक कार्यालय रहेका छन् । धाैलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा रहेको हुलाक कार्यालयलाई गाउँपालिका केन्द्र मुना लैजाने तयारी भएको हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।