धर्बेन्द्र झा
जनकपुरधाम, वैशाख १२ गते । प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामले भारतको रक्सौल बेतियाबाट उद्धार गरिएका १८ वर्षमुनिका नौ जना बालकलाई बिहीबार परिवारको जिम्मा लगाएको छ । राष्ट्रिय बालअधिकार परिषद् अन्तर्गत मधेश प्रदेशमा सञ्चालनमा रहेको केन्द्रले उक्त कार्य गरेको हो ।
भारतको रकसौल बेतियामा रहेको अज्ञात एक गिरोहले फेसबुकमार्फत नेटवर्किङ मार्केटिङमा जागिर लगाइदिने प्रलोभन दिएर बोलाएको थियो । प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामका प्रमुख सञ्जीवकुमार महतोले बन्धक बनाइएका १८ वर्षमुनिका आठ जना र भारतमा हराएका एक जना गरी नौ जना बालकलाई प्रहरीको उपस्थितिमा परिवारको जिम्मा लगाइएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैैठाका १४ वर्षीय बालक अताबुल राइन, महोत्तरी जिल्लाको पररिया थान कान्ति बजारका १६ वर्षीय अमरेश कुमार, धनुषाको मिथिला बिहारी नगरपालिका–२ का १६ वर्षीय मुस्तुफा राई, धनुषाका धनुषाधाम नगरपालिका–२ का १७ वर्षीय लक्ष्मणकुमार मण्डललाई जिम्मा लगाइएको हो । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ का १४ वर्षीय रविकिसन महरा, सिराहाको नरहा गाउँपालिका–१ का १६ वर्षीय प्रवीणकुमार दास, धनुषाको धनौजी गाँउपालिका–५ का १७ वर्षीय सलाउदिन राइन, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रपैठाका १७ वर्षीय बालक मोहमद दिलसाद शेख र भारतमा हराएका रौतहटका १४ वर्षीय पुजन माझीलाई परिवारको जिम्मा लगाइएको छ ।
प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र प्रमुख महतोले भारतीय प्रहरीको सहयोगमा भारतीय बालकल्याण समितिले भारतको रक्सौलबाट उद्धार गरी किन इन्डिया नामक संस्थालाई जिम्मा लगाएको जानकारी दिनुभयो ।
उक्त संस्थाले प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामसँग समन्वय गरी सम्पूर्ण प्रव्रिmया पूरा गरी केन्द्रले परिवारलाई जिम्मा लगाएको हो । किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार भारतको रक्सौलको बेतियामा २९ मार्चका दिन गोप्य सूचनाका आधारमा भारतीय प्रहरीले एक घरमा छापा हानेपछि ७७ जना नाबालकलाई बन्धक बनाएको अवस्थामा उद्धार गरिएको थियो । उहाँले जसमध्ये नेपालका आठ जना रहेकोमा भारतीय बालकल्याण समितिले उक्त आठ जना बालकलाई आफ्नो संस्थालाई जिम्मा लगाएपछि आफूहरूले प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामसँग समन्वय गरी बुधबार राति बुझाएको बताउनुभयो । उहाँले आफ्नो संस्था मानव बेचबिखन र मानव तस्करी नियन्त्रणका लागि काम गर्दै आएको र यसको मुख्य कार्यालय दिल्लीमा रहेको बताउनुभयो ।