• ११ वैशाख २०८२, बिहिबार

‘सहिद परिवारको स्मरण’

blog

बागमती–९ बेतिनी स्थित सहित परिवारलाई भेटघाट गर्दै माओवादी केन्द्र मकवानपुरको टिम । तस्बिरः अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, वैशाख ११ गते। सहिद तथा बेपत्ता भएकाको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले भेटघाट गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको सन्दर्भ पारेर सहिद र बेपत्ता भएका परिवारलाई घरमै पुगेर परिवारको अवस्थाबारे जानकारी लिएको हो ।

मकवानपुरको बागमती–९ बेतिनी स्थित सहिद दिलबहादुर रखाल र बेपत्ता योद्धा अर्जुन रखालको परिवारसँग जिल्ला पार्टीले भेटघाट गरेको हो । सहिद र बेपत्ताका पिता भीमबहादुर रखाल र बिरामी हुनुभएकी आमा बर्तमाया रखालसँग भेटघाट गरिएको थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानले सहित तथा बेपत्ता परिवारलाई नियमित भेटघाट गर्ने गरेको जानकारी दिँदै उहाँहरूको घाउमा मलहम लगाउने प्रयास गरिरहेको बताउनुभयो । सहिद परिवारलाई सकेको सहयोग र उहाँहरूले दिएको योगदानको सम्मान गर्ने गरेको बताउनुभयो ।

सहिद परिवारको घर भत्किएर जीर्ण अवस्थामा रहेकाले पार्टीको समन्वयमा छिट्टै घर निर्माण गरिने भएको जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिनुभयो । बर्खा अगावै समन्वय गरेर सहिद परिवारका लागि घर निर्माण गरिदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । जिल्ला पार्टी कार्यालयको छिट्टै बैठक बसेर आवश्यक पहल अगाडि बढाउने उहाँले बताउनुभयो  ।

सहिद परिवार भीमबहादुर रखालले पार्टीले अप्ठेरो परेको बेला सहयोग गरिरहेको बताउनुभयो । उहाँले पार्टीका नेता तथा यहाँका जनप्रतिनिधिले पनि सहयोग गरेकोमा धन्यवाद दिनुभयो । २०६२ वैशाख २६ गते सिराहा जिल्लाको बन्दीपुरमा नेपाली सेनासँग दोहोरो भिडन्तमा दिलबहादुर सहिद हुनुभएको थियो । द्वन्द्वको समयमा मकवानपुरबाट एक सय एक जना सहिद र १५ जना बेपत्ता हुनुभएको थियो ।