• ११ वैशाख २०८२, बिहिबार

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

blog

काठमाडाैं, वैशाख ११ गते । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदिप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ ।

मंगलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल पुर्‍याइएको थियो । 

बिहीवार बिहानै शव परिवारको जिम्मा लगाइएको छ । सुदीपको शव आजै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाई युवराज काफ्ले सहित शनिवार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । 

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलवार दिउँसो एक्कासी बन्दुकधारी आतङ्कवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।