• ११ वैशाख २०८२, बिहिबार

दुर्घटनाका घाइतेलाई उद्धार गर्दा पर्दैन झमेला

blog

तस्बिर :विजयकुमार साह ढल्केबर–जनकपुर सडकखण्डको रमदैयामा मङ्गलबार भएको टिप्पर दुर्घटना ।

विजयकुमार साह 

ढल्केबर, वैशाख ११ गते  । सवारी दुर्घटनाका घाइतेलाई उद्धार गर्न धेरै मानिस हच्किने गरेका छन् । घाइतेलाई अस्पताल पु-याउँदा कानुनी झमेलामा पर्ने डरले धेरैले सहायता गर्न चाहँदैनन् । जनकपुर–ढल्केबर सडकखण्डलगायतका स्थानमा भएका पछिल्ला केही दुर्घटनाले यस्तै देखाएको छ । 

धनुषास्थित जनकपुर–ढल्केबर सडकखण्डको राजदेवी मन्दिरनजिक मङ्गलबार बिहान टिप्पर दुर्घटना भयो । चालकले सन्तुलन गुमाउँदा सडक रेलिङमा ठोक्किएर टिप्पर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर गाडीभित्रै फसेका सहचालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको थियो । 

स्थानीयका अनुसार दुर्घटनालगत्तै घटनास्थल आइपुगेका स्थानीय तथा अन्य सवारीचालकले ती सहचालकलाई तत्कालै उद्धार गरी अस्पताल पु-याउन चाहेनन् । बरु घटनास्थलदेखि पाँच किलो मिटर टाढा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरियो । प्रहरी आएपछि मात्र सहचालकको उद्धार प्रव्रिmया अघि बढ्यो ।

एक महिनाअघि ढल्केबर–जनकपुर सडकखण्डको हरैयामा भएको मोटरसाइकल दुर्घटनामा पनि उद्धारमा ढिलाइ भएको थियो । दुर्घटनामा परेका व्यक्तिलाई चार किलोमिटर टाढाको अस्पताल लैजान कोही तयार भएनन् । प्रहरी आएपछि मात्र दुर्घटनाका घाइतेलाई अस्पताल लगिएको थियो । यति मात्र नभएर अधिकांश सवारी दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गर्न सर्वसाधारण हच्किने गरेका छन् । प्रहरी नआउँदासम्म सवारी दुर्घटनाका घाइते पीडा सहरे बस्नुपर्ने अवस्था छ । 

ढल्केबरका बुधेश्वर महतोले कानुनी झमेलाको डरले दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न हिचकिचाउने गरेको बताउनुभयो । उहाँका अनुसार उद्धारकर्तामाथि नै दुर्घटनामा संलग्न भएको आरोप लाग्न सक्छ भन्ने डरले मानिस टाढै बस्ने गर्छन् । कतिपय अवस्थामा घाइतेलाई अस्पताल पु-याउँदा उद्धारकर्तामाथि नै उपचार खर्चको जिम्मेवारी आइपर्नेसम्मको डर हुने गर्छ ।

उहाँले भन्नुभयो, “कतिपय अवस्थामा घाइतेलाई अस्पताल पु-याउने क्रममा प्रहरी प्रशासनबाट अनावश्यक प्रश्न सोधिनु र अदालतको झन्झटिलो प्रक्रियामा तानिने समस्याले उद्धार प्रव्रिmयालाई जटिल बनाएको छ । कानुनी प्रव्रिmया पार गर्नुपर्ने झन्झटले गर्दा यस्ता घटनामा कसैले सहयोग गर्न नै चाहँदैनन् ।” 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले सवारी दुर्घटनाका घाइतेलाई तत्काल अस्पताल पु-याउँदा उद्धारकर्तामाथि कुनै समस्या नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटनाका घाइतेलाई अस्पताल लगेमा वा छोएमा कानुनी झमेलामा परिन्छ भन्ने धारणा गलत हो । उद्धारकर्तासँग सामान्य सोधपुछ मात्र गरिन्छ । त्यसैले दुर्घटना देखेमा फोटो वा भिडियो खिच्नुभन्दा प्रहरी र एम्बुलेन्सलाई खबर गरी घाइतेलाई तत्काल अस्पताल लैजानु उचित हुन्छ ।” सखुवा महेन्द्रनगरका सञ्चारकर्मी अभरेन्द्र यादवले उद्धारकर्तामा कानुनी झमेलाको डर हटाउन व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । नेपालमा दुर्घटनापछि उद्धार प्रणालीमा सुधार गर्न प्रभावकारी कदम आवश्यक भएको उहाँको भनाइ छ । 

नेपालमा दुर्घटनाका घाइतेले उद्धार र समयमा उपचार नपाउँदा हुने मृत्युदरबारे कुनै तथ्याङ्क उपलब्ध छैन । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा मात्र देशभरमा ११ हजार ३३८ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक हजार २३३ जनाको मृत्यु भएको छ ।