भैरहवा समाचारदाता
भैरहवा, वैशाख ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सर जस्ता गम्भीर रोग लागेका बिरामीको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको छ ।” बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
“प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगको विषयमा निरन्तर संसद्मा छलफल गरेँ । संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलको पालादेखि नै उपचार सहयोग कार्यक्रम सुरु गर्न सफल भयौँ,” उहाँले भन्नुभयो, “म पनि लामो समय क्यान्सरसँग जुध्दै आएको व्यक्ति हुँ । अहिले क्यान्सरलाई जितेर तपाईंहरूको माझमा छु । रोगले च्यापेको बेलामा के के भोग्नु पर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । हामी बिरामीको पक्षमा काम गर्छौं र गरिरहेका छौँ ।”
उहाँले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । क्यान्सर रोगको उपचार तथा सेवा प्रवाह गर्ने लक्ष्यका साथ बेथरीमा अस्पताल निर्माण गर्न थालिएको हो । दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा एक अर्ब पचास करोड रुपियाँको लागतमा निर्माण सुरु भएको अस्पताल एक सय शय्याको हुने छ । निर्माण कार्य करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।