• ७ वैशाख २०८२, आइतबार

नयाँ कार्यालयले बढायो रोजगारी

blog

तस्बिर : रवीन्द्र उप्रेती महोत्तरीको गौशाला मालपोत कार्यालयमा सेवा लिन प्रतीक्षारत सेवाग्राही ।

बर्दीबास समाचारदाता

बर्दीबास, वैशाख ७ गते ।  अनेकन बाधा अवरोध र समस्या झेल्दै महोत्तरीको गौशाला बजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि साबिकका २० गाविसका करिब दुई लाख जनताले घरदैलोमै सेवासुविधा मात्र पाएका छैनन्, स्थानीय तहमा रोजगारीको अवसर पनि सिर्जना भएको छ ।

 यी दुई कार्यालयले सेवा सुरु गरेदेखि जिल्लाको उत्तरी भेगमा पुराना व्यवसाय परिवर्तन गर्ने लहर नै चलेको छ । गौशाला–५ का रेडियो पत्रकार नागेन्द्र साहले १० वर्ष लामो पत्रकारिता पेसा परिवर्तन गरी अहिले लेखापढी व्यवसायीको काम सुरु गर्नुभएको छ । उहाँले गौशाला मालपोत कार्यालय नजिक कोठा भाडामा लिएर नौ महिनादेखि ‘भू–सेवा केन्द्र सञ्चालन गर्नुभएको छ । उहाँले दुई जनालाई रोजगारीसमेत दिएको बताउनुभयो । 

पहिले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका गौशाला–११ का ३५ वर्षीय विन्देश्वर महतो र दुई दशकदेखि जग्गा कारोबार गर्र्दै आउनुभएका वडा नं. ५ का जयकुमार यादव तथा रमेश महतोले पनि आफ्नो पुराना पेसा परिवर्तन गरी छुट्टाछुट्टै नामको भूसेवा केन्द्र खोलेर सेवाग्राहीलाई सहजीकरण गर्दै आउनुभएको छ । महोत्तरीको गौशाला बजारमा मालपोत र नापी कार्यालयले सेवा सुरु गरेदेखि पुरानो पेसा परित्याग गरी भूसेवा र लेखापढीको व्यवसाय अपनाउने युवापुस्ताको सूची लामो छ । 

लेखापढी व्यवसायी महासङ्घ गौशालाका अध्यक्ष सत्यनारायण यादवका अनुसार दुवै कार्यालयले गौशालामा सेवा सुरु गरेको करिब नौ महिनाको अविधिमा ३३ वटा भूसेवा केन्द्र दर्ता भई एक सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसबाहेक ५० जना जति स्थानीय युवाले छुट्टै लेखापढी गरेर रोजीरोटी चलाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयबाहेक जलेश्वरदेखि आएर पनि गौशालामा लेखापढी र भूसेवा सञ्चालन गरी आत्मनिर्भर बनेका धेरै छन् ।”

गौशाला मालपोत कार्यालयका प्रमुख दीपेन्द्र झाले यहाँबाट उत्तरी भेगका चार वटा स्थानीय निकायका साबिक २० वटा गाविस अन्तर्गतका निजी, सरकारी, सार्वजनिक, गुठी र सामुदायिक जग्गा वा घरजग्गासम्बन्धी भूसेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार स्थापना भएदेखि गौशाला मालपोतले दैनिक २० देखि २५ वटा जग्गा पास, ३० देखि ३५ वटा जग्गा रोक्का र फुकुवा, दाखिल खारेज, नामसारीलगायतको काम हुने गरेको छ । लेखापढी ब्यवसायी सङ्घका अनुसार यी सेवा लिन गौशाला मालपोतमा दैनिक करिब तीन सय सेवाग्राही आउने गरेका छन् । तुलनात्मक रूपले सेवाग्राहीको यो चाप जलेश्वर मालपोत कार्यालयभन्दा बढी हो । 

२०७८ चैत २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले संयुक्त उद्घाटन गरेर कर्मचारी खटाए पनि विभिन्न बाधा अवरोधले जलेश्वर मालपोतबाट समयमै आवश्यक स्रेस्ता प्राप्त नहुँदा उद्घाटन भएको झन्डै तीन वर्षपछि गौशाला मालपोत र नापीले सेवा सुरु गरेका थिए ।