• १४ वैशाख २०८१, शुक्रबार

नीति तथा कार्यक्रममाथि छलफल सुरु

blog

अविनाश चौधरी

धनगढी, जेठ २३ गते । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमा सोमबारबाट प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो । 

छलफलमा भाग लिनुहुँदै प्रदेश सभा सदस्य तारा लामा तामाङले नीति तथा कार्यक्रम अत्यन्त राम्रो रहेको बताउनुभयो । ‘सरकारको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको उहाँको भनाई छ । ‘यो नीति तथा कार्यक्रम सफल भयो भने प्रदेशको मुहार फेरिने कुरामा दुई मत छैन’, उहाँले भन्नुभयो । 

धेरै कुरा समेटिएको नीति तथा कार्यक्रमउन्मुख बजेट आओस भन्ने प्रदेशवासीको चाहना रहेको तामाङको भनाइ छ । सरसर्ती हेर्दा प्रदेश सरकारले सबै क्षेत्रलाई समेट्न खोजेको उल्लेख गर्नुहुँदै प्रदेशका लागि देखिनेगरी कार्यक्रम ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘सङ्घ र स्थानीय सरकारले गरिरहेका कार्यक्रमलाई पनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको देखिएको छ’, उहाँले अगाडि थप्नुभयो । ‘त्यस्ता कार्यक्रमलाई प्रदेश सरकारले कार्यक्रममा राख्नु हुन्न ।’ 

राना थारु समुदायको सम्मान हुनेगरी कञ्चनपुरको लालझाडी गाउँपालिकालाई ‘लालझाडी

राना साँस्कृतिक पर्यटकीय गाउँ’ बनाउने कार्य अत्यन्त राम्रो रहेको तामाङको भनाइ छ । यद्यपि, उहाँले रानाको पछाडि थारु थप्न सुझाव दिनुभयो । 

सुदूरपश्चिमलाई प्राप्त हुने मौजुदा बजेटलाई मध्यनजर गरेर नै सरकारले १५६ बुँदे नीति तथा कार्यक्रम ल्याएको हो भन्ने कुरामा आफू विश्वस्त रहेको प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताउनुभयो । त्यो बजेटलाई न्यायोचित तरिकाले विनियोजन गर्नुपर्ने कुरामा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । 

गौरवका योजना, बहुवर्षीय योजना, अधुरा योजना पनि नीति तथा कार्यक्रममा आएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘यस्ता योजना बनाउने सन्दर्भमा सबैको राय सुझाव लिइनु पर्दथ्यो, तर त्यसरी राय, सुझाव लिएर आएको देखिदैन ।’ 

स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा नीति तथा कार्यक्रम समेटिनु अत्यन्त राम्रो रहेको खड्काको भनाइ थियो । उहाँले लगानी भित्र्याउनका लागि विगतमा लगानी सम्मेलन पनि भएको उल्लेख गर्नुहुँदै त्यसबाट भएको उपलब्धीको समीक्षा गरिनु पर्ने औंल्याउनुभयो । 

तराईमा ठूला उद्योग सञ्चालन गर्नु पर्नेमा खड्काको जोड थियो । ‘यसले रोजगारी बढाउँछ । अर्थतन्त्रमा सुधार हुन्छ’, उहाँले भन्नुभयो । यसैगरी, अर्का प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले सबै कुरा समेटेर सरकारले ल्याएको नीति तथा कार्यक्रम सम्पूर्ण रुपमा राम्रो रहेको बताउनुभयो । ‘नीति तथा कार्यक्रम राम्रो छ । यसलाई बजेटमा पनि कार्यान्वयन गरिनु पर्दछ’, उहाँले भन्नुभयो । 

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा पेश गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको थियो । यसैगरी प्रदेश सभाबाट धन्यवादको प्रस्ताव पनि सर्वसम्मतले पारित भएको छ । १० औं अधिवेशनको पाँचौं बैठकमा प्रदेश प्रमुख देवराज जोशी उपस्थित भइ प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाले प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले सभामा धन्यवादको प्रस्ताव पेश गर्नुभयो ।  

यस्तै, प्रदेश सभा सदस्य वीरमान चौधरीले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली २०७४, प्रथम संशोधन २०७६ सहितलाई संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेश गर्नुभएको छ ।