• ६ वैशाख २०८२, शनिबार

अध्यात्मको मार्गमा आह्वान

blog

नेपाली साहित्यजगत्मा भर्खर जुर्मुराएका नवीन स्रष्टा हुन्, ऋषिराम पाण्डेय । सरकारी सेवामा कार्यरत पाण्डेयले ‘सकारात्मक जीवन प्रसङ्ग’ कृतिपछि ‘आत्माको अदालतमा’ दोस्रो औपन्यासिक कृति पाठकसमक्ष ल्याउनुभएको छ ।आध्यात्मिक चिन्तन आजको आवश्यकता हो । आध्यात्मिक ज्ञानले नै मानवीय जीवनलाई सार्थक बनाउन सकिन्छ । सत्यको ज्ञानपश्चात् नै अज्ञानतारूपी कालो बादल चिर्दै प्रेम, सद्भाव र शान्ति जस्ता शुद्ध भावसहितको व्यवहार गर्न सकिने यथार्थलाई निकै उत्कृष्ट पाराले उपन्यासमा औँल्याएका छन् । सम्पूर्ण मानवलाई अध्यात्मतिर आकृष्ट हुन अपिल गरेको छ उपन्यासले । निरन्तर ध्यान र साधनाको अभ्यासले जीवनको रहस्य पत्ता लगाई वास्तविक जीवनको रसपान गर्न सकिन्छ भन्ने कुरालाई उपन्यासमा म पात्रको माध्यमद्वारा देखाइएको छ । अनादिकालदेखि नै मानवले परम शान्ति, सुख र अमरतत्वको खोजीमा यत्रतत्र भौँतारिइरहेको तर यी तŒव कसरी प्राप्त गर्न सकिन्छ भन्ने मार्गसम्म पुग्नै नसकी बिच बाटोमै विभिन्न कर्मबन्धन र आशक्तिको जालमा रुमल्लिएर जीवनको सार तŒवमा ठेस लाग्ने गरेको यथार्थलाई स्पष्ट पार्न खोजिएको छ उपन्यासमा । सत्य र असत्यको द्वन्द्वले भरिएको यस ब्रह्माण्डमा असत्यलाई भगाएर सत्यलाई बचाउनुपर्ने कुरालाई केन्द्रविन्दु बनाई उपन्यास अगाडि 

बढेको छ ।        

पूर्वजन्मको प्रभाव मानिसमा पर्छ नै । पूर्वजन्मको असल र खराब दुवै कर्मको फल भोग्न मनुष्य बाध्य हुन्छ भन्ने तथ्यको पुष्टि म पात्रको जीवनमा घटित घटनाव्रmमले इङ्गित गरेको छ । चिन्ता र तनावको दोसाँधमा रुमल्लिँदै हराएको  ऊ जीवनको अस्तित्वबोधबाट विमुख भई मृगतृष्णा सरी भौँतारिइरहेको छ । 

सबै भौतिक उपलब्धि हासिल गरेर सुविधासम्पन्न बनी कुनै चिजको अभाव महसुस गर्नु नपरेको अवस्थामा पनि जीवन अत्यन्तै सुक्खा र जर्जर भएको महसुस गर्न पुग्छ । सही मार्गदर्शनका निमित्त असल गुरुको अभावमा यत्रतत्र दौडिरहँदा एक उच्चस्तरकी साधिका अनुराधा साक्षात् गुरुका रूपमा उपस्थित हुन पुग्छिन् । यो नै उसका लागि अहोभाग्य साबित हुन्छ । गुरुको सान्निध्य रहँदै गर्दा आहारविहार र विचारमा शुद्धता हुँदै हृदयभित्र आनन्दको सञ्चार जागृत हुन पुग्छ । 

ध्यान र साधनामा निरन्तर लीन हुँदा पूर्वजन्मको स्मृति सादृश्य भई त्यस जन्मको सम्पूर्ण घटनाव्रmमको बोध हुन्छ । फलस्वरूप मुक्तिको असल मार्ग पहिचानमा म पात्र सक्षम हुन्छन् । पूर्वजन्ममा महात्मा भई सत्कर्म गरेको प्रभावस्वरूप यस जन्ममा पनि छिट्टै सत्कर्मको मार्ग पहिचान गर्न सफल भई मानव कल्याणकारी कार्यमा अग्रसर भएको कुरा कथानकमा उल्लेख भएकाले पूर्वजन्मको सकारात्मक प्रभाव म पात्रमा सहजै परेको अनुमान गर्न सकिन्छ । यी प्रसङ्ग निकै रोचक र मनमा सकारात्मक ऊर्जा प्रवाह गर्ने खालको पाइन्छ । मानिसको जन्म नै यस धर्तीको सुरक्षा र शुभ कर्म गर्नका लागि भएको हो । करुणा, प्रेम, सद्भाव मानवता जस्ता गुण मानवीय शील हुन् । यसको पालना गर्नु मानवीय धर्म हो । मनुष्य कहिल्यै पनि लोभ, मोह, अहङ्कार, ईष्र्या र द्वेषको बन्दी बन्न नहुने सत्यलाई आकर्षक शैलीले प्रस्तुत गरिएको छ । नैतिक ज्ञान र शिक्षाले निकै ओझिलो र भरिलो बन्न पुगेको छ, उपन्यास । पाठकलाई आफ्नो कर्मका बारेमा सोच्न र जीवनलाई सकारात्मक रूपमा परिवर्तन गर्न प्रेरित गरेको छ । जीवन निर्वाहका लागि गरिने हरेक कर्म नै यज्ञ भएकाले कर्म गर्दा अन्य कर्ममा लिप्त नभई विचार गरी  होसियारीपूर्वक गर्नु आवश्यक हुन्छ । आशक्तिरहित कर्मले नै मोक्षको यात्रा तय गर्ने कुरालाई विशेष जोड दिएको छ उपन्यासले ।

लडाइँ, झगडा, युद्धले विश्व ब्रह्माण्ड आव्रmान्त परिरहेको परिप्रेक्ष्यमा विश्वलाई शान्तिको मार्गमा हिँड्न उपन्यासकारले आग्रह गरेको पाइन्छ । मानव जन्मको रहस्य बुझ्नका निमित्त अध्यात्मको चिन्तन, ध्यान र साधना अहिलेको विश्व समाजमा अपरिहार्य रहेको यथार्थ सत्यलाई लेखकले सङ्केत गर्नुभएको छ ।  मानव जीवन युद्ध, लडाइँ, भ्रष्टाचार गरी अकुत सम्पत्ति सङ्ग्रह गर्नका लागि हो ? एक पटक राम्ररी आफैँले आफैँलाई प्रश्न गरौँ त ? चिन्ताले ग्रसित हुँदै तनावको भुमरीमा दिनप्रतिदिन रुमल्लिएको छ मान्छे । वास्तविक सुख र शान्तिको भोग गर्न पाएकै छैन । नाशवान् यस लोकमा सबै चिज क्षणिक छ । 

जन्मैजन्मको पुण्यको प्रभावले मात्र मनुष्योनि प्राप्त हुने हुँदा यो हाम्रो अहोभाग्य र अपूर्व अवसर मान्दै जीवनलाई देदीप्यमान बनाउनु पर्छ । यसैमा सबैको कल्याण हुने ठम्याइ लेखकको रहेको छ । मान्छेको मनमा पैदा हुने भावहरू सबै क्षणिक हुन् भन्ने बुझ्नु पर्छ । मन जड हो, यो अनित्य छ । जो नित्य निरन्तर छ, त्यो नै सदा नित्य छ । मनलाई नित्य ठान्नु नै भूल हो । मनलाई आफ्नो वशमा राखी आत्माको कल्याण र हित हुने कार्य गर्नु नै मानवको मानवीयता र सच्चा धर्म हो । आत्माको उन्नतिका लागि पु नः पुनर्जन्म र मृत्युको चव्रmमा आइरहनु पर्छ । आत्माको प्रकृति नै अजीव छ । यो कहिल्यै नाश हुँदैन । मानवीय कर्मको निरीक्षण गरी न्यायिक ढङ्गले सबैको कर्मको फल भोग गर्न लगाउँछ आत्मा । कर्मको एक एक हिसाबकिताब मृत्युपश्चात् आत्माको अदालतमा बुझाउनुपर्ने भएकाले जुनसुकै कर्म पनि तटस्थ भएर गर्नुपर्ने छलकपटपूर्ण व्यवहार गर्न नहुने नैतिक शिक्षाको पाठ यहाँ सिक्न सकिन्छ । विश्व ब्रह्माण्ड ईश्वरीय संरचना हो । यो चराचर जगत् सबै प्राणीको घर हो । 

यहाँ सबै प्राणी, जीवजन्तु र वनस्पतिले स्वतन्त्र रूपमा जीवन जिउन पाउनु पर्छ । यो संरचनालाई ध्वस्त गर्ने अधिकार मानव जातिलाई नरहेको शाश्वत सत्यलाई उपन्यासले सङ्केत गरेको छ । आजको युगमा हामीले घरपरिवार समाजमा रहेरै बसेरै यो संसारलाई हेर्न र बुझ्नु पर्छ । जागिर, व्यापार, व्यवसाय जे गरेका छौँ; त्यसलाई निरन्तरता दिँदै घरपरिवारप्रतिको जिम्मेवारी पूरा गरी त्यहीँबाटै अध्यात्मको उत्खनन गर्नु आजको आवश्यकता हो । संसार नै यस्तो पारदर्शी चिज हो । हरेक तŒवलाई सजिलै नियाल्न सकिन्छ । सम्पूर्ण तŒवलाई बुझेर यहीँबाट हरेक व्यक्तिले अध्यात्मको बाटोमा यात्रा गर्नु पर्छ । हाम्रा वेद, उपनिषद् अनि पुराण आधुनिक विज्ञानका जननी र बहुमूल्य खजाना भएकाले यसको उचित संरक्षण गर्नु पर्छ । यसबाट प्राप्त ज्ञान पठनीय मात्र नभएर मननीय हुनु पनि उत्तिकै आवश्यक छ । मनुष्य मात्र एउटा यस्तो प्राणी हो, जो कर्मलाई भोग्दै मोक्षको यात्रा तय गर्न सक्षम हुन्छ । अध्यात्मको चिन्तनले मानव जीवनमा परम आनन्द, शान्ति, चैतन्यको अवस्थामा पुग्न सहयोग गर्ने शाश्वत सत्य र विचारलाई उपन्यासका माध्यमबाट प्रस्तुत गर्न लेखक सफल हुनुभएको छ ।

सरल, सहज, प्रभावकारी र स्वाभाविक कथ्य भाषाको प्रयोगले उपन्यासमा जीवन्तता भरेको छ । सामान्य पाठकका लागि पनि सहजै बोधगम्य रहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय भूभाग परिवेशका रूपमा चित्रण गरिएको छ । आयामको दृष्टिले परिच्छेदमा एकरूपता नभएको पाइन्छ ।