• ११ असार २०८२, बुधबार

पूर्वमुख्य सचिवको आत्मकथा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ११ गते  । विसं २००६ चैत २९ गते वैशाख कृष्ण नवमीका दिन मैले घरबाट अलिक पर धुवाँको मुस्लो र आगोको राता लप्का स्पष्ट देखिरहेको थिएँ ।

कुहिरो जस्तो उक्त मुस्लो बिजुली चम्के झैँ हामै्र  घरतर्फ अघि बढिरहेको थियो । नभन्दै मैले देखिरहेको त्यो परको आगो छिनभरमै हाम्रो घरसम्मै आइपुग्यो । आगोको तातो राप मैले पनि अनुभव गर्न थालेँ । पूर्वमुख्य सचिव केशव राजभण्डारीको आत्मकथा ‘सार्वजनिक सेवामा बितेको जीवन’ पुस्तकको उक्त अंशले छ वर्षको उमेरमा उहाँले पोखराको घर जल्दा भोग्नु परेको विपत्तिको परिदृश्यलाई सम्झाउँछ । होस समालेदेखि नै विपत्तिको सामना गर्नुभएका राजभण्डारीले नेपालका थुप्रै जिल्लामा थुप्रै पद र परिचयका साथमा रहेर राष्ट्रको सेवा गर्नुभएको कामको र जीवनको अनुभवलाई घोस्ट राइटिङ नेपालले पुस्तकका रूपमा ल्याएको छ ।

राजभण्डारीले गृह सचिव, मुख्य सचिव, प्रमुख निर्वाचन आयुक्तलगायतको अनुभवलाई ८९ शीर्षकमा विस्तारका साथ पुस्तकमा अभिलेखीकरण गर्नुभएको छ । घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले राष्ट्रका लागि योगदान दिनुभएका हजारौँ राष्ट्रसेवकलगायत विविध माध्यमबाट नेपाल र नेपालीका लागि समर्पित व्यक्तित्वको प्रेरणादायी कथा लेख्ने क्रममा राजभण्डारीका काम र सिङ्गो जीवनलाई पुस्तकका रूपमा ल्याएको बताउनुभयो ।