• ६ वैशाख २०८२, शनिबार

पानसुपारी दिएर प्रेम प्रस्ताव

blog

सर्वो सायो सायो... सर्वो सायो


झापा र मोरङ जिल्लामा फैलिएका धिमाल बसोबास क्षेत्रमा यतिबेला धिमाल लोकभाका गुन्जिरहेका छन् । लोकसंस्कृतिलाई असाध्यै माया गर्ने धिमाल जाति आफ्नो प्रमुख पर्वका रूपमा जातिरी (सरिजात) मनाउन मग्न छन् । 

मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानीको महाराज थानमा विधिपूर्वक पूजाआजा गरेपछि धिमालको जातिरी सुरु हुन्छ । धिमाल जातिको प्रमुख पर्वका रूपमा रहेको जातिरी/सिरिजात वैशाख २ देखि सुरु भएको हो । धिमाल जातीय विकास केन्द्रले दिएको जानकारी अनुसार धिमाल बसोबास रहेका १०४ वटा टोल समितिमा जातिरी पूजा हुन्छ । सबै टोलको पूजा सकिएपछि असार २ गते धिमाल जातीय विकास समितिको केन्द्रीय कार्यालयपरिसर उर्लाबारी–३, मोरङमा सामूहिक पूजा गरेर जातिरी समापन गरिन्छ ।

धिमाल जाति आफूलाई प्रकृतिपूजक मान्छन् । टोल टोलमा हुने पूजामा उनीहरू बालीनाली सप्रियोस्, बेलाबखत पानी परोस् भन्दै परिवारको स्वास्थ्यको कामना गर्छन् । उनीहरूले हाँस, कुखुरा, सुँगुरलगायत बलि दिएर महाराजथानमा सामूहिक पूजाआजा गरी बलपुकारा गर्ने गर्छन् । 

धिमालले परापूर्वकालदेखि पूजाआजा गर्दै आएका ग्रामथानहरू १०४ वटै टोलमा अझै पनि छन् । तिनै थानमा भेला भएर धिमालहरू पूजा गर्ने गर्छन् । धिमाल अगुवाहरूका अनुसार धिमाल समुदायले बिरामी निको पार्ने देवीका रूपमा सालीआमाई देवीको पूजा गर्छन् । सालीआमाईको पूजामा कुनै सामग्री अपुग भएमा रोगव्याध लाग्ने र दुःख दिने मान्यता धिमालमा अझै जीवित छ । त्यस्तै जला (पारवती) आमाईको  पूजा खास गरी बाढीपहिरो, खोलानालाले दुःख नदेओस् भनेर गर्ने गरिन्छ । धनसम्पत्ति प्राप्त होस्, श्रीवृद्धि होस्, खानलाउन अनिकाल नलागोस्, प्रशस्त कृषि उत्पादन होस् भन्ने कामनासहित लक्ष्मीआमाईको पूजा गर्ने गरिन्छ । ज्ञान प्राप्त होस्, कोही पनि अज्ञानी नहुन्, शिक्षा र बुद्धि विवेक प्राप्त होस् भनेर सरस्वतीआमाईको पूजा गर्ने गरिन्छ ।

खेतीपातीका सामग्री र लगाउन चाहिने लुगा बुन्न आवश्यक धागो, कपडा, तन्नाको कहिल्यै अभाव नहोस् भनेर टुकुनीआमाईको पूजा गर्ने गरिन्छ । साना साना बालबच्चालाई दुःख नहोस्, रोगब्याध नलागोस्, सधैँ रेखदेख गरून् भनेर डिङडिङआमाईको पूजा गर्ने गरिन्छ । सबै जातिका लागि लुगा उत्पादन गर्न सकियोस्, अन्न फलाउन सकियोस् भनेर ढालेआमाईको पूजा गर्ने गरिन्छ । यसका अतिरिक्त धिमाल जातिले चार वटा माझी देवतालाई पनि पूजा गर्ने गर्छन् । यसलाई चौमाझी भनिन्छ । ती हुन्– ढुढा ठाकुर, याउ माझी, साउ माझी र धरम ठाकुर । धरम ठाकुर भनेको देवताको पनि देवता हो । खास गरी धिमालहरू खोलानालाको छेउमा रहेको ठुलो रुखको भेदमा थान बनाई देवताको पूजा गर्ने गर्छन् । सोही थानमा मिठो मसिनो माछामासु पकाउने, आफन्त नातेदार बोलाउने र खाने गर्छन् ।

यो पर्वमा ढोल बजाएर नाचिन्छ । ढोलको आवाज ढङ... ढङ... आउने हुनाले अरू जाति वा समुदायका मानिसले जातिरीलाई ढङढङे पनि भन्ने गरेको पाइन्छ । खोलानाला, रुखबिरुवा र माटोको पनि पूजा गरिन्छ । यसलाई ग्रामपूजा भनिन्छ । पछिल्लो समय काठमाडौँमा पनि धिमालले यो पर्व मनाउने गरेको पाइन्छ । जातिरी÷सिरिजातमा धिमालहरू आफूले भाकल गरे अनुसार वस्तु चढाउने गर्छन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरूलाई मासु तथा 

‘चिचिरी’, ‘बगिया’ लगायत परिकार खुवाउने गरिन्छ । जुन गाउँमा जातिरी मेला लाग्छ, त्यस गाउँका धिमालका घर घरमा पाहुना आउने गर्छन् । खास गरी यो पर्वलाई चेलीबेटी माइत आउने अवसरका रूपमा लिइन्छ । 

आदिवासीका रूपमा रहेका धिमालहरू जातिरी पर्वका अवसरमा हिलोको पनि पूजा गर्छन् । नराम्रो जस्तो लाग्ने हिलोबाट मानव जातिलाई पालनपोषण गर्ने राम्रो अन्न उत्पादन हुन्छ भन्ने मान्यता उनीहरूको छ । 

आदिकालमा धिमालको जातिरीको सबैभन्दा आकर्षण परिकार चिचिरी भात र बगिया थियो । अनदी धानको चामललाई बाफमा पकाएर खाइने चिचिरी भात र चामलको पिठोबाट बन्ने बगियामा अचेल कसैको आँखा लाग्दैन । 

यो पर्व मिठोमसिनो खाने, पाहुना बोलाउने र नाचगान गर्ने मात्र होइन; दुःखसुख साट्ने, भेटघाट गर्ने पर्वका रूपमा समेत परिचित थियो । जातिरी सकिएपछि खेतीपाती सुरु हुन्छ । प्रकृतिपूजक धिमाल बालीनाली लगाउनुपूर्व आफन्तबिच भेटघाट गर्ने चेली माइतीसँगै बसेर मिठोमसिनो खाने चलन थियो । मेलामा आउँदा अलि हुने खानेहरू हात्तीघोडा चढेर आफन्तकहाँ आउँथे । सामान्य आर्थिक अवस्था भएकाहरू राँगा, गोरुगाडामा आउँथे । यस पर्वमा लाग्ने मेलामा आएका युवकले युवतीलाई र युवतीले युवकलाई पान, सुपारी, छोकडा दिँदा तिनले लिएर खाएमा प्रेमप्रस्ताव स्वीकार गरेको मानिन्थ्यो । पर्वलाई केटाकेटी हेराहेर गर्ने अवसरका रूपमा पनि लिइन्थ्यो । पछिल्लो समय भने यसखाले संस्कृति लोप हुँदै गएको छ । तथापि, लोकगीत सङ्गीत असाध्यै मन पराउने धिमाल बस्तीमा लोकभा गुन्जिएकै छन्–

ढोल बजाइसु हो नेलाई ढोल बजाइसु

ह्याङ्गे नन्नी केलै..

नेलाई ढोल बजाइसु हो नेलाई ढोल बजाइसु

ढोल बजाइसु हो नेलाई ढोल बजाइसु