• ३० वैशाख २०८१, आइतबार

संसदीय समितिद्वारा फुङफुङ्गे झरना अवलोकन

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २३ गते । प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो । 

जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा अवस्थित फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्दै समितिले झरनाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएको छ । एक आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने अवस्था देखिएकाले फुङफुङ्गे झरनाको प्रवद्र्धनमा लाग्नुपर्ने समितिले जोड दिएको छ । 

समितिका सभापति एवम् प्रदेश सांसद थेबेले ताप्लेजुङको मात्र नभई प्रदेश १ अर्थात पूर्वी नेपालकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना बोकेको फुङफुङ्गे झरनाको विकास र प्रवद्र्धन गर्नमा ढिलाई गर्न नहुने बताउनुभयो । झरनाको विकास साथै प्रवद्र्धन गर्न आवश्यक प्रचार प्रसार, पूर्वाधार निर्माणलगायतका कार्य गर्नका लागि स्थानीय सरोकारवालाले योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । 

झरनाको प्रवद्र्धनसँगै पर्यटन विकास गर्ने आवश्यक योजना बनाएर अघि बढ्न स्थानीय तहसहित सरोकारवालालाई समितिले सुझाव दिएको छ । फुङफुङ्गे झरना सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य भएकाले यसको प्रवद्र्धनको काम भएमा आन्तरिक तथा बाह्य पर्यटकको एक मुख्य रोजाइको स्थल बन्नसक्ने सम्भावना रहेको सांसद तथा समिति सदस्य नारायण बुर्जामगरले बताउनुभयो । 

यस्तै, प्रचुर सम्भावना बोकेको झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनामा स्थानीय सरोकारवालाले बढी जोड दिनुपर्ने समिति सदस्य तथा प्रदेश सांसद उमिता बराइलीले बताउनुभयो । यता, स्थानीय तह र सरोकारवालाले फुङफुङ्गे झरनाको प्रवद्र्धन र विकासका लागि बनाएको योजनामा समितिले आवश्यक सहयोग गर्ने सभापति थेबेको भनाई छ । 

आकर्षक पर्यटकीय गन्तव्य भएपनि हाल फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न न्युन पर्यटक मात्र जानेगरेका छन् । झरना पुग्नलाई सहज सडक सुविधा, प्रचार प्रसारको पर्याप्तता, झरना स्थलमा झोलुङ्गे पुल निर्माण, फोटो तथा भिडियो खिच्नलाई उपयुक्त ठाउँको प्रवन्ध, पदमार्गको व्यवस्थापन लगायतका काम गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । फुङफुङ्गे झरना करिव दुईसय ५० मिटर उचाईमा रहेको छ ।