• ५ वैशाख २०८२, शुक्रबार

बर्सौंदेखि ढाँडे पुल अलपत्र

blog

जुगल गाउँपालिकास्थित डाँढेको ब्रह्मायणी नदीमा बन्दै गरेको पक्की पुल ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, वैशाख ३ गते  । जुगल गाउँपालिकास्थित ढाँडेको ब्रह्मायणी नदीमाथि निर्माणाधीन पक्की पुल बर्सौंदेखि अलपत्र अवस्थामा रहेको छ । सूर्य जेभी निर्माण कम्पनी नामक ठेकेदारको चरम लापर्बाहीका कारण पुल निर्माण रोकिएको बर्सौं भएको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरूप सात करोड रुपियाँमा उक्त पुल निर्माण प्रारम्भ भएको थियो । ७० मिटर लामो पक्की पुलमा ठेकेदारले दुईतर्फी पिल्लर हालेर त्यसपछि फरार रहेको छ । 

स्थानीय सरकारले पटक पटक निर्माण कार्य अघि बढाउन निर्देशन दिए पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको छ । जुगल गाउँपालिका–१, सेलाङ, गोल्चे, पाँचसिम्ले जोड्ने उक्त पक्की पुल निर्माण कार्य अघि नबढ्दा स्थानीयले नदीमा हेलिएर तर्नु परेको छ । नदीमा जीर्ण झोलुङ्गे पुल त छ तर त्यस पुलबाट आउजाउ गर्न जोखिम रहेको स्थानीय कमल थापाले बताउनुभयो । जोखिम मोलेरै भए पनि सोही पुलबाट केहीले भने आउजाउ गर्दै आइरहेका छन् । हिउँदमा ब्रह्मायणी नदीबाट सवारीसाधन लैजाने गरिएको छ तर बर्खायाम सुरु भएसँगै नदीको बहाव बढ्दा सवारीसाधान तर्न सक्दैनन् ।

पुल नबनेपछि गाउँबाट आउजाउ गर्न अति कष्टकर हुँदै आएको छ । सो पुल निर्माण नहुँदा गाउँका बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पु-याउनसमेत कठिन हुँदै आएको छ । करिब ३० किलोमिटर माथिबाट बिरामी तथा सुत्केरी बोकेर ढाँडेबजारमा ल्याएर एम्बुलेन्समा अन्यत्रका अस्पतालमा लैजानु परेको पीडा स्थानीयले पोखेका छन् । 

उक्त पुल तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । तीन वर्षमा तीन वटा ठेकेदारले थोरै मात्र काम गरेर छाडेपछि पुल निर्माण हुन सकेको छैन । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर आफू सम्पर्कविहीन हुँदै आएको छ । जुगल गापाका अध्यक्ष रेशम स्याङ्बोले मुख्य ठेकेदार सम्पर्कमा नआएकाले पुल अलपत्र अवस्थामा रहेको बताउनुभएको छ । ठेकेदार सुवास निरौला सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको छ ।