काठमाडौँ, वैशाख ५ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ।
वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उहाँले सो निर्देशन दिनुभएको हो।
यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले सो अवसरमा बताउनुभएको थियो। पर्यटन प्रवर्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड थियो।
मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताउनुभयो।
यस विषयमा उहाँले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गर्नुभएको थियो।