• ६ वैशाख २०८२, शनिबार

आपतकालीन गोदाम घर प्रदेशलाई हस्तान्तरण

blog

शुक्रबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री रमेश लेखक। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ५ गते। पोखराको पुरानो विमानस्थलभित्र निर्माण गरिएको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। शुक्रबार गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सङ्घीय गृहमन्त्री रमेश लेखकले गोदाम घर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो। 

कार्यक्रममा गृहमन्त्री लेखकलले हरेक स्थानीय तहले आवश्यकताअनुसारका गोदाम घरहरू निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले नेपालका सबै भूगोलका क्षेत्रहरू विपद्को जोखिममा रहेको जनाउँदै पूर्वसावधानी र प्रतिकार्यका लागि सधैं तयार रहनुपर्ने उल्लेख गर्नुभयो।

“हामी प्राकृतिक प्रकोपको अति जोखिममा छौँ। जुनसुकै बेला जुनसुकै खालको विपत्ति आउन सक्छ भनी तयार रहनुपर्छ,” उहाँले भन्नुभयो। विपद्का प्रतिकार्य र उद्धारलाई विकेन्द्रीत गर्न सबै प्रदेशका बनेका गोदामघरहरू प्रदेशलाई नै हस्तान्तरण गर्ने नीति लिइएको उहाँको भनाइ छ। 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोदाम घर बनेपछि एकद्धार प्रणालीबाट काम गर्न सहज हुने उल्लेख गर्नुभयो। गण्डकी विपद्को जोखिमयुक्त प्रदेश भएको उल्लेख गर्दै उहाँले विपद्का बेला तीन तहकै सरकार, सुरक्षा निकाय र स्थानीय समुदायसमेत मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। 

विपद्का बेला गण्डकी प्रदेशका जिल्लामा आवश्यक राहत पुर्‍याउन पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रमले आपतकालीन गोदाम घर निर्माण गरिदिएको हो। आपतकालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न युरोपेली युनियनको सहयोगमा साहयता स्थल बनेको हो। 

एक लाख ६१ हजार अमेरिकी डलरमा निर्माण भएको यो गोदामघरको क्षमता सात सय टन छ। २०८० चैत पहिलो साता निर्माण सुरु भएको गोदाम घर गएको असोज ९ गते बुधबारदेखि सञ्चालनमा आएको थियो। विश्व खाद्य कार्यक्रमले यसअगाडि काठमाडौँ, भैरहवा, धनगढी, विरगन्ज, बर्दीवास लगायत देशका ११ स्थानमा मानवीय सहायता स्थल बनाइसकेको छ। राजधानी बाहिरका सबै गोदामघर अब प्रदेश मातहत सञ्चालन हुने छन्।