• ४ वैशाख २०८२, बिहिबार

कृषि शिविरबाट किसान लाभान्वित

blog

कृषिसम्बन्धी घुम्ती शिविरमार्फत किसानलाई सेवा प्रवाह गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् ।

सिदिङ्वा गाउँपालिकाले प्रत्येक वडामा बाली उपचार तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सम्पन्न गरेको छ । सात वटा रहेको गाउँपालिकाका प्रत्येक वडामा सञ्चालित निःशुल्क घुम्ती शिविरबाट कुल एक हजार २६६ परिवार लाभान्वित बनेका छन् । कृषिसम्बन्धी शिविरमा बाली उपचारतर्फ ६४९ घरपरिवार लाभान्वित बनेका छन् । यस्तै, पशु स्वास्थ्य शिविरतर्फ ६१७ किसान परिवार लाभान्वित बनेका छन् ।

सिदिङ्वा गाउँपालिका कृषि शाखा प्रमुख विकास थेबेका अनुसार सिङ्गो गाउँपालिकालाई प्राङ्गारिक पालिका बनाउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो । सोही उद्देश्यमा केन्द्रित जैविक विषादी तयार गर्ने विधिबारे जानकारी गराउनुका साथै किसानलाई जैविक विषादी वितरण गरिएको छ । बाली उपचार शिविरतर्फ नै किसानले लगाएको बालीलाई क्षति पुर्‍याइरहेका रोग, कीरा तथा अन्य समस्याको पहिचान गरी सुरक्षित विषादी प्रदान गरिएको शाखा प्रमुख थेबेले जानकारी दिनुभयो ।

यस्तै, गाउँपालिकाको एक घर एक करेसाबारी कार्यक्रमलाई लक्षित गरी करेसाबारीमा हुने तरकारीका बिऊविजन वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार किसानलाई कृषिसम्बन्धी निःशुल्क प्राविधिक सेवासमेत प्रदान गरिएको छ । 

त्यस्तै, पशु स्वास्थ्य शिविरतर्फ पशुपन्छीमा लाग्ने विभिन्न रोगको रोकथामका लागि औषधी तथा उपचार सेवा प्रदान गरिएको छ । आन्तरिक तथा बाहिरी परजीवी नियन्त्रण गर्न औषधी र उपचार सेवा प्रवाह गरिएको पशु सेवा शाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पशुमा हुने बाझोपन नियन्त्रणसम्बन्धी आवश्यक सेवा, पशु बन्ध्याकरण र पशुपन्छी पालनसम्बन्धी प्राविधिक परामर्श सेवा प्रदान गरिएको छ ।

गत चैत २३ गतेदेखि सञ्चालित कृषिसम्बन्धी अर्थात बाली उपचार तथा पशु स्वास्थ्य शिविरमा गाउँपालिकाको कृषि र पशु शाखामा कार्यरत जनशक्ति परिचालित भएका थिए । यता वडा–वडामा पुगेर सञ्चालन गरिएको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरले स्थानीय किसानलाई राहत मिलेको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बताउनुभयो । उपाध्यक्ष कडरियाका अनुसार धेरै किसान कृषि तथा पशु पालनमा आबद्ध रहेकाले उनीहरूलाई शिविरले फाइदा पुगेको छ ।