• ३ वैशाख २०८२, बुधबार

नयाँ वर्ष शुभारम्भ,देवस्थलमा दर्शनार्थीको भिड

blog

बर्दीबास समाचारदाता

बर्दीबास, वैशाख २ गते  । नयाँ वर्ष २०८२ को पहिलो दिन यहाँका मठमन्दिरमा सोमबार बिहानैदेखि दर्शनार्थीको भिड लाग्यो । नयाँ वर्षलाई आफ्नो धर्म संस्कृति र परम्परा अनुसार  हर्षोल्लासाथ मनाइरहेको बेला बर्दीबासस्थित शक्तिरुपिणी भगवती पञ्चधुरामाईको मन्दिर भक्तजनको भिडले भरिएको थियो । 

धार्मिक, पौराणिक एवं तान्त्रिक महत्त्व बोकेको पञ्चधुरामाईको मन्दिर बिहानैदेखि नै भक्तजनले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर तामाङले बताउनुभयो । नयाँ वर्षको शुभसाइतमा दर्शन गर्ने, विवाह गर्ने, भाकल पूरा भएकाले बोका, परेवाको बली दिने तथा वनभोज खाएर रमाइलो गर्नेको भिडले मन्दिरपरिसरमा भरिभराउ भएको थियो । 

यस मन्दिरसँंग जुटेका अनेकन किंवदन्ती, धार्मिक आस्था, विश्वास तथा यहाँको सुन्दर, शान्त, रमणीय दृश्यावलोकन र आवागमनको सुविधाले पर्यटकको आकर्षण बढ्दै गएको अध्यक्ष तामाङले बताउनुभयो । मन्दिरका पुजारी विनयसिंह दासका अनुसार मन्दिरको नाम नै दर्शनार्थीका लागि आकर्षण र कौतूहलको विषय बन्ने गरेको छ । 

कुनै बेला घना जङ्गलभित्र रहेको यस मन्दिरमा पिपलको विशाल वृक्ष थियो । त्यो अद्भुत वृक्षको फेदीमा रहेका पाँच वटा टोड्काबाट अविरल जलधारा बगिरहने हँुदा यस मन्दिरको नाम पनि पञ्चधारा राखिएको किंवदन्ती छ । पछि यही ‘पञ्चधारा’ अपभ्रंश हुँदै पञ्चधुरा भएको उहाँको भनाइ छ । यो मन्दिर जति पौराणिक छ उत्तिकै यसको ऐतिहासिक महत्त्व पनि छ । श्री ३ जङ्गबहादुरले सिकार खेल्ने व्रmममा यसै मन्दिरपरिसरमा सेतो बाघ देखेपछि उनी बिरामी परेका थिए । पछि यही ‘सेतो बाघ’ उनको मृत्युको कारण पनि बनेको बुढापाकाले सुनाउने गरेका छन् । 

यो मन्दिरमा तान्त्रिक शक्ति भएको विश्वास पनि गरिन्छ । त्यही कारण यहाँ भाकल गर्ने र बली दिनेको भिड लाग्ने गरेको छ । यहाँ दर्शन गर्दा चिताएको मनोकामना पूरा हुने र गरेका कार्य सिद्ध हुने विश्वासका कारण यस मन्दिरमा बिहे, व्रतबन्ध जस्ता धार्मिक, सामाजिक कार्य गर्नेको सङ्ख्या पनि बढ्दो छ । यस मन्दिरमा बिहे गर्दा दाम्पत्य एवं सन्तति सुख पाइने विश्वासका कारण लगनको महिनामा विवाह गर्नेको भिडले मन्दिरपरिसर भरिएको हुन्छ । मन्दिरका अध्यक्ष तामाङका अनुसार नववर्षको पहिलो दिन नै आधा दर्जन बढीले देवीलाई साक्षी राखेर बिहे गरेका छन् । 

पूर्वपश्चिम राजमार्गनजिक रहेका कारण यहाँ आउन र यसको दर्शन गर्न सहज र सुगम पनि छ । यसका साथै बर्दीबास वडा नं ५ मा अवस्थित टुटेश्वरनाथ, औरही नगरपालिकाको सोनामाई स्थान, जलेश्वरको जलेश्वरनाथ, सोनमा गाउँपालिकाको मङ्गलनाथलगायतका देवस्थलमा पनि नववर्षको पहिलो दिन दर्शनार्थीको भिड लागेको थियो । सिन्धुलीको सन्निकट र धनुषाको बाहुनमारासँंग जुटेको कालापानी बर्दीबास नगरपालिकाकै पर्यटकीय गन्तव्यमध्येको एक हो । वरपर हरियाली जङ्गल, रातु खोलाको कल कल पानी र साना सुन्दर कटेजमा पिकनिक खान रमनेहरूको भिडभाडले छिमेकी जिल्ला सिन्धुलीदेखि तराईका बस्ती र विद्यालयसम्म यस पार्कको परिचय विस्तार गरेको छ । भारतीय पर्यटकका लागि पनि कालापानीको पिकनिक गन्तव्य बनेको छ ।