• ३ वैशाख २०८२, बुधबार

मनै लोभ्याउने फूल (फोटो फिचर)

blog

बुटवल–भैरहवा सडक (सद्धार्थ राजमार्ग )मा ढकमक्क फूलेका फूलहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १ गते ।
सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरीथरीका फूल ढकमक्क फुलेका  छन् । सडक किनारामा हरियाली उस्तै छ । बिचमा नगरको पहिचान दिलाउने बेगमवलीको सौन्दर्यले सो सडक भएर गुड्ने सवारी, यात्रु, पैदल यात्रु तथा स्थानीयलाई समेत मनमोहक बनाएको छ ।

अहिले बुटवल–नारायणगढ खण्डको धुलोका कारण सास्ती भइरहेको बेला यो सडकको सौन्दर्यले भने सबैलाइ सन्देश दिएको छ । सडकमा ढकमक्क बेगमबेलीसहितका फूलहरू फुलेपछि त्यसको सौन्दर्यले राजमार्ग सुन्दर बन्दा सडक किनारका बासिन्दा पनि खुसी देखिन्छन् ।

ठाउँ–ठाउँमा बुद्धको मूर्ति फूलसँगै रहदा त्यसले अझ पनि सौन्दर्य देखिएको छ । सडकभरी बुद्धका मूर्ति राखिँदा लुम्बिनीमा बुद्ध जन्मिएका हुन भन्ने पहिचान पनि देखाएको छ ।


‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरू लगाएको नगरभित्रका सडक बसन्त क्रृतुसँगै अहिले फूलले राताम्मे हुँदा सबैको मन लोभ्याएको छ ।

तिलोत्तमा नगरका सडकमा बेगमबेली, हमेलिया, कल्की, करविरका साथै विभिन्न फूल तथा आँप, बर, पिपल, स्वामी लगायतका विरुवाहरू पनि छन् । नगरपालिकाले सिटी फ्लावरको रूपमा बेगमबेली निर्धारण गर्दै जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।

तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सयभन्दा बढी प्रजातिका विभिन्न फूलका विरुवाहरू लगाइएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको भनाइ छ ।


फूलहरूमा नगरपालिकाले पानी राख्ने, काटछाट गर्ने, गोडमेल गर्ने र मल राख्ने काम निरन्तर गर्दै आएको उहाँको भनाइ छ । तिलोत्तमाका १७ वटा वडामा ३४ सफाइकर्मी नियमित काममा हुन्छन् ।

जाली लगाएर घेरिएको डिभाइडर र कंक्रिटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाह्रमास हरियाली र मनमोहक बनाउने गरेको छ भने दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रातपरेपछि थरीथरीका बत्ती बलेर झिलिमिली देखिन्छ ।