काठमाडौँ, चैत ३१ गते । नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले नगद र सम्मान पत्रले सम्मानित गरिएको ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनिल लामाले जानकारी दिनुभयो ।
प्रशिक्षक लामाका अनुसार काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट तीन सय अमेरिकी डलर र पुष्प थापा मगरबाट एक सय अमेरिकी डलर गरी कुल चार सय अमेरिकी डलर र सम्मान पत्रबाट सम्मान गरिएको हो । काजल अमेरिकाको टेक्कासमा भएको डालास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न त्यहाँ पुग्नुभएको थियो ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बन्नुभएको थियो । त्यसयता उहाँले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भुमिका निभाइसक्नुभएको छ । उहाँले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जित्नुभएको छ । उहाँ ग्योरोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ ।
च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ । यस्तै क्लबले सामाजिक कार्य र विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ ।