• १ वैशाख २०८२, सोमबार

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

blog

फ्रिटाउन,  चैत ३१ गते । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् ।

आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ । 

राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहनुभएको छ । 

अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए ।

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरुले बताएका छन् ।

 स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोट भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय समयअनुसार अपराह्न ४ :०० बजे (स्थानीय समयअनुसार १६ : ०० बजे) सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ ।

स्थानीय बासिन्दा मोहम्मद कामाराले एएफपीसँग भन्नुभयो, “शनिबार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्केको देखिएको थियो ।”

प्रहरीले भवन वरपरका सडकलाई घेरा हालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो । रासस/एएफपी