हरेक मानिसको मस्तिष्क र आत्माको विकास नै शिक्षा हो । शिक्षा मानवको चौतर्फी विकासको आधार पनि हो । शिक्षाको विकासका लागि हरेक देशले समयोचित विकासमा जोड दिएका हुन्छन् । शिक्षाले मानवलाई हरेक समस्याको समाधान गर्न सक्षम बनाउँछ । सामाजिक न्यायका लागि आवाज उठाउन, कानुनको पालना गर्न, समस्यामा सही निर्णय लिन र मानवलाई सक्षम बनाउने कार्य शिक्षाले नै गर्छ । पछिल्लो समय शिक्षामा नवीनता भएन, सिपमूलक र व्यावसायिक शिक्षाको अभावका कारण बेरोजगारी बढ्यो भन्ने आवाज पनि जोडदार रूपमा उठ्न थालेका छन् । परम्परागत शिक्षाका कारण शिक्षित जनशक्ति पनि बेरोजगार बन्नु परेको छ भन्ने तर्क पनि बलियो छ । जनशक्ति तीन प्रकारका हुन्छन्– दक्ष, अर्र्धदक्ष र अदक्ष ।
नेपालको तिनै प्रकारका जनशक्ति यति बेला बिदेसिन बाध्य छ । स्वदेशमा रोजगारी प्राप्त गर्ने अवसर नहुँदा हरेक दिन दुई हजारभन्दा बढीको सङ्ख्यामा युवा जनशक्ति विदेश जान बाध्य भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । तिनै श्रमिकले कमाएका पैसा वा विपे्रषण नै आज हाम्रो अर्थतन्त्रको बलियो टेको बन्न पुगेको छ । शिक्षालाई समयसापेक्ष बनाउन नसक्दा आज हामीले अनेक समस्याको सामना गर्नु परेको छ । राज्यले शिक्षाको विकासका लागि बर्सेनि ठुलो रकम खर्चने गरेको छ । शिक्षामा विनियोजन गरिएको रकम न्यून भएका कारण पनि अपेक्षित विकास गर्न नसकिएको भन्ने आवज पनि उठ्ने गरेका छन् ।
शिक्षा क्षेत्रका जानकार शिक्षाको सुधार र विकासका लागि राज्यले कम्तीमा पनि कुल बजेटको २० प्रतिशत रकम आवश्यक पर्ने बताउँछन् । जे होस् शिक्षालाई समय सापेक्ष र व्यावसायिक बनाउनु पर्छ भन्नेमा कसैको पनि विमति रहँदैन । शिक्षाको गुणस्तरका विषयमा पनि अनेक प्रश्न उब्जिएका छन् । आजको युग प्रविधिको भएकाले यसको सदुपयोग गरी प्रभावकारी शिक्षण सिकाइ गर्न कुनै पनि कसर बाँकी राख्नु हुँदैन । पछिल्लो समय सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गरी पठनपाठन हुन थालेको छ । यसले विद्यार्थीमा सिकाइप्रति जिज्ञासु हुने भएकाले यसको प्रभावकारिता पनि ज्यादा रहने गरेको छ ।
शिक्षण सिकाइ दिगो, रोचक र प्रभावकारी बनाउन प्रविधिको सही तरिकाले प्रयोग गरी आमविद्यार्थीको सिकाइ क्षमता वृद्धि गरी शिक्षण एकाइलाई पनि थप प्रभावकारी बनाउन प्रविधिको पहुँच बढाउँदै लैजानु पर्छ । आजका विद्यार्थीमा प्रविधिको प्रयोग सिकाइका लागि भन्दा पनि बढी मनोरञ्जनका लागि भइरहेको देखिन्छ । हरेक वस्तु वा उपकरणको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको हुन्छ । विद्यार्थीले आफ्नो पठनपाठनसँग सम्बन्धी सामग्रीको प्रयोग गरेमा निश्चय पनि सिकाइमा सहजता आउने छ । अनावश्यक भिडियो, युट्युब जस्ता डिभाइसको प्रयोग गरी अनुत्पादक दृश्य तथा सामग्रीको प्रयोगले आमविद्यार्थीको पठनपाठनमा नकारात्मक प्रभाव मात्र बढेर जान्छ । यसतर्फ अभिभावक वर्ग पनि सचेत र सजग बन्नु आवश्यक छ ।
प्रविधिको सही सदुपयोग गर्न सक्नु पर्छ । गलत तरिकाले प्रयोग गर्दा प्रत्युत्पादक मात्र बन्न पुग्छ । खास गरी विद्यार्थी स्वयम् नै सजग हुनु पर्छ भने अभिभावकको पनि प्रभावकारी निगरानीको खाँचो रहन्छ । हाल सबै जसो विद्यालयमा स्मार्ट बोर्डको प्रयोग गरी पठनपाठन गरिन्छन् । पाठसँग सम्बन्धित विभिन्न प्रकारका भिडियो प्रदर्शन गरी कक्षा पनि रोचक बनाउँदै शिक्षण कार्य गरिन्छन् । यसले सिकाइमा सकारात्मकता मात्र थप्दैन, दिगो पनि बनाउँछ । पछिल्लो समय हरेक समस्या एआईको सहयोगमा समाधान गर्ने प्रवृत्ति पनि तीव्र रूपमा वृद्धि भएर गएको छ । यसले विद्यार्थीमा मेहनत गर्ने, अध्ययन गर्ने र मौलिकतामा आधारित सिकाइ हुन सकिरहेको छैन । यसले ज्ञान पनि अल्पकालीन हुने अनि विद्यार्थीमा अभ्यास, खोजी र सिर्जनशीलताको पनि कमी हुने समस्या वृद्धि हुन्छ ।
सिकाइका लागि विद्यार्थीमा तत्परताको खाँचो रहन्छ । त्यो तत्परताको विकास गर्न प्रविधिले प्रभावकारी भूमिका खेल्छ । प्रविधिको प्रयोगका कारण विद्यार्थीमा निष्क्रियताको वृद्धि हुने जोखिम पनि उच्च रहन्छ । विद्यार्थीमा अल्छीपनाका विकास हुने, मानसिक सक्रियता र सिर्जनशीलतामा पनि कमी आउने समस्या आउँछ । हरेक किसिमका बौद्धिक समस्याको समाधानमा गुगल तथा एआई जस्ता डिभाइसको सहयोगको सहारा लिने भएकाले प्रविधिको प्रयोग सकारात्मक मात्र भने नहुने पनि प्रस्ट देखिन्छ । विद्यार्थीको सिकाइमा नवीनता ल्याउन प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ ।
आज विज्ञान, प्रविधि र सूचनाको विकास तीव्र गतिमा भइरहेको छ । बढ्दो प्रविधिको सही तरिकाले उपयोग गरी त्यसबाट शिक्षामा गुणस्तर वृद्धि गर्ने तथा हरेक क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन गरी स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने खाँचो छ । आजका पाठ्यक्रममा व्यावसायिक शिक्षाको अभाव छ । हाल सिटिइभिटीबाट मात्र प्राविधिक शिक्षा उपलब्ध छ । त्यसले पनि पर्याप्त मात्रमा सिपयुक्त जनशक्तिको उत्पादन गर्न सकेको छैन । आजको आवश्यक्ता भनेको सिपयुक्त शिक्षा नै हो । कम्तीमा पनि १२ कक्षा उत्तीर्ण युवाले आफूले अध्ययन गरेका आधारमा कुनै न कुनै सिपको प्रयोग गरी स्वरोजगार बन्ने अवस्थाको निर्माण गर्न सक्नु पर्छ ।
आज अझै पनि ग्रामीण तथा विकट क्षेत्रमा रहेका विद्यालयमा प्रविधिको पहुँच पुगेका छैन । इन्टरनेटको सहजता रहेको छैन भने विद्यार्थीमा पनि प्रविधिका उपकरण सहजै प्रयोग गर्न सक्ने अवस्था रहेको छैन । इन्टरनेट, मोबाइल, कम्प्युटर जस्ता उपकरण र प्रविधिको उपलब्धता छैन । यस कारण पनि चाहेर पनि ती दुर्गमका विद्यार्थीका लागि प्रविधिको प्रयोग गरी सिकाइ गर्न कठिनाइ रहेको वास्तविकता हामीले भुल्नु हुँदैन । शिक्षामन्त्री महावीर पुनले सबै सरकारी विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य अध्यापन गराउनुपर्ने घोषणा गर्नुभएको छ । घोषणा सकारात्मक छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको तयारी पहिले गर्नुपर्ने खाँचो छ । जसका लागि प्रविधिको उपयोग वा प्रयोग गर्न सक्षम जनशक्ति तयार गर्नु जरुरी छ ।
प्रविधिको प्रयोगबाट पठनपाठन गर्दा शिक्षकलाई पनि सहज हुन्छ । प्रविधिको प्रयोगबाट कोही पनि विमुख रहन सक्ने अवस्था छैन । यसलाई उपलब्धिमूलक र प्रभावकारी बनाउँदै समयको मागलाई पूरा गर्ने शिक्षा प्रदान गर्ने वातावरण तयार गर्न सम्बन्धित सबै गम्भिरताका साथ लाग्नु पर्छ । शिक्षाको समसामयिक विकासका लागि स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । शिक्षामा विनियोजित रकमको लगभग ९० प्रतिशत रकम शिक्षकका पारिश्रमिकमा खर्च हुने गरेको छ । विद्यालयमा पुस्तकालय, कम्प्युटर ल्याब, प्रविधिको लागि सुविधायुक्त कक्षाकोठाको समेत अभाव छ । प्रविधिको सञ्चालन गर्नका लागि प्राविधिज्ञको पनि अभाव रहेको अवस्थामा दक्ष प्राविधिज्ञको व्यवस्था गर्न पनि थप रकमको खाँचो छ ।
सरकारी विद्यालयमा प्रविधिको पहुँच वृद्धि गर्न प्रविधिको प्रयोग गर्न जान्ने दक्ष जनशक्ति, पर्याप्त मात्रामा उपकरण र त्यसको उपयुक्त व्यवस्थापन कक्षको पनि उत्तिकै महìवपूर्ण हुन्छ । नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले पनि समयसापेक्ष परिमार्जन गर्दै आमविद्यार्थीको पहुँचमा पुग्ने वातावरणको सिर्जना गर्न अब विलम्ब गर्नु हुँदैन । यसका लागि आवशयक पर्ने रकमका लागि दातृराष्ट्र र नेपाल सरकार मिलेर आवश्यक बजेटको तर्जुमा गर्ने कार्यमा विशेष ध्यान दिनु जरुरी छ । विद्यालयमा आवश्यक पर्ने प्राविधिज्ञ तयार गर्न अल्पकालीन तालिम दिएर पनि विद्यालयमा पठाउन सकिन्छ । यसका लागि आवश्यक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने दिशामा कार्य सम्पादन गर्न हरतरहले जुट्नु पर्छ ।