• ४ पुस २०८२, शुक्रबार

खानेपानीको चरम अभावले ग्रस्त सदरमुकाम मान्म बजार

blog

खानेपानी आभावले काकाकुल कालीकोट सदरमुकाम मान्म बजार तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट पुस ४ गते ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार पछिल्लो समय गम्भीर खानेपानी अभावको चपेटामा परेको छ । जिल्लाकै प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्र मानिने मान्म बजारमा नियमित रूपमा पानी नआउँदा स्थानीयवासी दैनिकी चलाउनै कठिन अवस्थामा पुगेका हुन् ।

मान्म बजारका ल्याइएका खानेपानीका मुहान सुक्दै जानु, पुराना खानेपानी आयोजनाहरू जीर्ण अवस्थामा हुनु र पर्याप्त मर्मत तथा विस्तार नभएका कारण समस्या झन् जटिल बन्दै गएको स्थानीयको गुनासो छ । बजार क्षेत्रमा रहेका धारा हप्तौँसम्म सुक्खा रहने गरेका छन् भने बजारदेखि टाढाका मुहानबाट बजारवासीलाई पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।

खानेपानीको अभावले सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।  मदन होटलका सञ्चालक धनबहादुर वटालाले मान्म बस्न लागेको ४२ वर्षसम्म कुनै दिन पनि खानेपानी चाहिने जति नपाएको बताउनुभयो । उहाँले पहिला जनधनत्व थोरै हुँदा बजार आसपास पानीमा मुहान थिए, प्रया सरसफाइ गर्न जाने गरेपनि पछिल्लो समयमा जथाभावी सडक विस्तारका कारणले मुहान सुक्दै गएको र पाँच किलोमिटर टाडाको पानीले बजारमा माग थेग्न नसकेका कारणले पानीको अभाव थपिँदै गएको बताउनुभयो ।

बिहान–साँझ पानीको जोहोमै समय बिताउनुपर्दा बालबालिकाको पढाइ र महिलाको दैनिकीमा प्रत्यक्ष असर पर्ने गरेको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर बिष्टले पर्याप्त सफा पानी नहुँदा सरसफाइ र स्वास्थ्यमा समेत जोखिम बढेको बताउनुभयो । ‘‘हामीले सरसफाइका विषयमा नागरिकलाई जानकारी दिनुपर्छ । आफैँ सरसफाइ गर्ने पानी नपाउदा समस्यामा छौँ ।’’ बिष्टले भन्नुभयो । खानेपानीका लागि बजेट आए पनि स्रोतको अभाव र वनपाखा जाने स्थानीयले पानीका लाइन काट्ने गरेकाले पनि थप अभाव हुने गरेको बिष्टको भनाइ छ ।

‘‘स्थानीय व्यापारीहरू पनि समस्या झेलिरहेका छन् । होटल, रेष्टुरेन्ट र साना व्यवसाय सञ्चालन गर्न आवश्यक पानी नपाउँदा व्यवसाय प्रभावित भएको व्यापारीहरूको भनाइ छ । सदरमुकाममै यस्तो अवस्था हुनु लज्जास्पद हो,” होटल रोनीका सञ्चालक जीवनबहादुर शाहीले भन्नुभयो, ‘‘कर तिर्छौँ, तर आधारभूत सेवा पाउन सकेका छैनौँ ।’’ खानेपानी, सरसफाइ तथा ऊर्जा विकास कार्यालय र स्थानीय सरकार खाँडाचक्र नगरपालिका वडा नं १ सँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधान नआएको शाहीको गुनासो छ ।

स्थानीयवासीले मुहान संरक्षण, नयाँ स्रोतको खोजी, लिफ्ट खानेपानी आयोजना तथा वर्षा पानी सङ्कलन जस्ता कार्यक्रम तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । तर नगरपालिकाको यसमा ध्यान भने गएको छैन । सदरमुकाम जस्तो महत्त्वपूर्ण केन्द्रमै खानेपानीको चरम अभाव हुनु विकास र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ । सम्बन्धित निकायले तत्काल र दीर्घकालीन योजना ल्याई मान्म बजारवासीलाई सुरक्षित र नियमित खानेपानीको व्यवस्था गर्नुपर्ने यहाँका नागरिकको माग रहेको छ ।