नेपालको पत्रकारिता क्षेत्रमा गौरवमय इतिहास बोकेको ‘गोरखापत्र दैनिक’ को १२५ औँ वर्ष (शताब्दी रजत) तथा नेपालको पहिलो अङ्ग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक अवसरमा ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ कार्यक्रमको महत्वपूर्ण आयोजनाका लागि गोरखापत्र संस्थान तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस अवसरमा संस्थान परिवारलाई हार्दिक बधाई तथा शुभकामना पनि छ ।
आज हामी यहाँ ‘दृढतासहित पुनरुत्थान : गोरखापत्र बहस’ कार्यक्रममार्फत नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास–रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वास तथा पुँजी परिचालन र नीतिगत सहजीकरणलगायत विषयका महत्वपूर्ण आयाममा विमर्श गर्न भेला भएका छौँ । यो भेलाको आयोजना नेपालको पत्रकारिताको आधार स्तम्भ रहेको ‘गोरखापत्र संस्थान’ ले गर्नु सकारात्मक छ ।
गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालनमा ल्याउँदै देशको अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा योगदान पु¥याउने उद्देश्यका साथ आयोजना गरेको यो महत्वपूर्ण आर्थिक बहस ‘गोरखापत्र डिस्कोर्स’ मा सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी–व्यवसायी, विज्ञ, विश्लेषक तथा मूलधारका सञ्चारकर्मीको सहभागिता हुनु प्रशंसनीय छ ।
यो बहसले मुलुकको समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहित सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको गहन विश्लेषण गर्दै ठोस निष्कर्षमा पुग्ने विश्वास लिएको छु । विशेषतः, हालैको ‘जेनजी’ पुस्ताको आन्दोलनपश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विविध आयाममा महत्वपूर्ण निचोडका साथ सहकार्यको वातावरण निर्माण हुने अपेक्षा गरेको छु ।
गोरखापत्र संस्थान राष्ट्रको आधिकारिक आवाजका रूपमा एक शताब्दीभन्दा बढी समयदेखि सत्य, विश्वसनीय सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको छ । गोरखापत्रले नेपालका ४६ वटा राष्ट्रिय भाषामा सामग्री प्रस्तुत गरी समावेशी समाज निर्माण र नेपाल जस्तो बहुभाषिक तथा बहुसांस्कृतिक मुलुकको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनमा उल्लेखनीय योगदान पु¥याएकोमा खुशी व्यक्त गर्दछु । यसले मुलुकको आर्थिक विकास, सार्वजनिक बहस र राष्ट्रिय संवादलाई दिशा दिनुका साथै सरकार, नागरिक समाज र सरोकारवालाबिच सूचनाको सेतुको रूपमा पनि काम गर्दै आएको छ ।
विसं २०१९ मा संस्थानका रूपमा स्थापित गोरखापत्रले बहुआयामिक प्रकाशनमार्फत राष्ट्रसेवामा निरन्तर योगदान दिँदै आएको छ । ‘दी राइजिङ नेपाल’, ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ जस्ता पत्रिकाले समाजका सबै तहलाई समेट्दै गोरखापत्रलाई गर्वको प्रतीक बनाएका छन् । आधुनिक डिजिटल युगलाई आत्मसात् गर्दै गोरखापत्र अनलाइन र राइजिङ नेपाल अनलाइनमार्फत विश्वभर नेपाल चिनाउने कार्य यस संस्थानको ऐतिहासिक उपलब्धि हो ।
आजको युग डिजिटल युग हो । समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था छ । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भई विश्वसनीयता र तथ्यपरकता कायम राख्न सक्नु पर्छ । संस्थान, अभिलेखीकरणीय पत्रकारिता (तथ्य, इतिहास र प्रमाणलाई सुरक्षित राख्ने पत्रकारिता) मार्फत भविष्यका पुस्ताका लागि अमूल्य सम्पदाका रूपमा आफूलाई उभ्याउनु अर्को प्रशंसनीय कदम हो ।
पारदर्शिता, सुशासन, भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको ‘जेनजी’ पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको सन्दर्भमा गोरखापत्र संस्थानको यो नेतृत्वदायी पहल महत्वपूर्ण पनि छ । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्ताबेज पनि हो । राणाकालीन शासनको अन्धकारदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत सुदृढीकरणसम्म गोरखापत्रले आमनागरिकको आवाज, आकाङ्क्षा, अधिकार र स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आएको छ । यसले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र राष्ट्रिय एकताको प्रवर्धनमा उल्लेखनीय योगदान पुगेको छ ।
वर्तमान सन्दर्भमा, अन्तरिम सरकारसँग निर्वाचनलाई प्राथमिकतामा राख्ने कार्यसूचीसँगै आर्थिक विकासका कामलाई पनि सँगसँगै अघि बढाउनु पर्ने चुनौती रहेको छ । बैङ्क तथा वित्तीय संस्थामा थुप्रिएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकार र निजी क्षेत्रबिच आपसी विश्वासको वातावरण निर्माण पनि आजको आवश्यकता हो । कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारमा लगानी बढे रोजगारी सिर्जना, आय र उत्पादन वृद्धि भई समग्र आर्थिक विकासले गति लिने विश्वास लिएको छु । मुलुकको सर्वोत्तम हितका लागि सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्नु जरुरी छ ।
सरकार र निजी क्षेत्रमा भएको क्षति तथा आर्थिक गतिविधिमा आएको शिथिलतालाई दिगो रूपमा पुनरुत्थान गर्ने दिशामा सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर सहकार्यको बाटो खोज्न यो बहस कार्यक्रम सहायक सिद्ध हुन सकोस् ।
आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिस्पर्धी बनाउँछ । पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भूमिका खेल्न सक्नु पर्छ । निजी क्षेत्र राष्ट्रको आर्थिक इन्जिन हो । पत्रकारिताले निजी क्षेत्रलाई प्रोत्साहन, नीति स्पष्टता र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पु¥याउनु पर्छ । जहाँसम्म नीतिगत सहजीकरणको विषय छ, यसका लागि नीति स्पष्ट, सरल र कार्यान्वयनयोग्य हुन जरुरी छ । पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पु¥याउने माध्यम बन्न सक्नु पर्छ ।
अन्त्यमा विश्व आर्थिक अनिश्चितता र नेपालको आफ्नै चुनौतीबिच दृढतासहितको पुनरुत्थान र दिगो विकासमा योगदान पु¥याउने उद्देश्यले गरिएको यो विमर्श संस्थानको दूरदर्शी कदम हो । ‘गोरखापत्र बहस’ पत्रकारिताको विमर्शसँगै राष्ट्रको पुनरुत्थानको मार्गचित्र कोर्ने विश्वास लिएको छु । हामी सबै मिलेर समावेशी, डिजिटल, अभिलेखीकरणीय र उत्तरदायी पत्रकारिताको अभ्यास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने सङ्कल्प लिन सक्नु पर्छ । यो आर्थिक बहस कार्यक्रमले देशको अर्थतन्त्रमा बहुआयामिक रूपमा सकारात्मक र फलदायी योगदान दिने छ भन्ने विश्वास व्यक्त गर्दै आज सम्मानित हुनुभएको सम्पूर्ण व्यक्तिमा हार्दिक बधाई र यो महत्वपूर्ण बहसको पूर्ण सफलताका लागि पुनः हार्दिक शुभकाना व्यक्त गर्दछु ।
(उपराष्ट्रपति यादवले गोरखापत्र संस्थानले पुस ३ गते ललितपुरमा आयोजना गरेको ‘दृढतासहित पुनरुत्थान : गोरखापत्र विमर्श : (गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स) कार्यक्रम उद्घाटन समारोहमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)