• ४ साउन २०८१, शुक्रबार

शिक्षकलाई सडक सुरक्षा तालिम

blog

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेल जाइका प्रतिनिधिसँग आफ्ना माग राख्दै ।तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ २३  गते । बर्दिबास–सिन्धुली–धुलिखेल सडकमा पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूलाई आइतबार सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।

बर्दिबास–सिन्धुली–धुलिखेल सडक (बीपी राजमार्ग)मा सवारी दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न शिक्षकहरूलाई एकदिने सडक सुरक्षासम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको सडक आयोजनाले जनाएको छ । 

बर्दिबास–सिन्धुली–धुलिखेल सडकको आयोजना र जाइकाको सहयोगमा भएको तालिममा सडकखण्डअन्तर्गत सिन्धुली जिल्लामा पर्ने १५ वटा विद्यालयका २५ शिक्षक सहभागी रहेका तालिमका प्रशिक्षक सरोज खनालले जानकारी दिनुभयो ।

बीपी राजमार्गको बारेमा सङ्क्षिप्त जानकारी गराउने, सडक सभ्यता अभिवृद्धि गर्ने, सडक दुर्घटना न्यूनीकरण गराउने, बीपी राजमार्गमा पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूलाई सडक सुरक्षाबारे जानकारी गराई आफ्ना विद्यालयका विद्यार्थीलाई सडक सुरक्षाबारे जानकारी गराउनु तालिमको उद्देश्य रहेको उहाँले सुनाउनुभयो ।

तालिममा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले बीपी राजमार्गमा सञ्चालन हुने सवारी चाप बढेसँगै दुर्घटना पनि बढ्दै गएका भन्दै राजमार्गको घुम्ती सुधार गरे दुर्घटनामा कमी आउने बताउनुभयो । 

जाइका टिमका वरिष्ठ परामर्शदाता हिरोकी सिन्काईले बीपी राजमार्ग पहाडी क्षेत्रको सुन्दर राजमार्ग भएको चर्चा गर्दै १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण गर्न २५ अर्ब रुपियाँ खर्च भएको बताउनुभयो । जियोटेक जापानी प्रविधि पहिलो पटक नेपालमा बीपी राजमार्ग निर्माण गर्न प्रयोग भएको पनि परामर्शदाता सिन्काईले सुनाउनुभयो ।

बीपी राजमार्गका पूर्व आयोजना प्रमुख बिन्दुशमशेर राणाले सडक चौडा गर्नेबित्तिकै दुर्घटना घट्ने नभई सवारी साधनको तीव्र गतिका कारण उक्त राजमार्गमा सडक दुर्घटना भइरहेको बताउनुभयो । यसअघि भकुण्डेमा १५ विद्यालयका २५ शिक्षकलाई सचेतना तालिम दिइएको आयोजनाले जनाएको छ ।