• ४ साउन २०८१, शुक्रबार

लोकप्रियताका लागि महत्वाकाङ्क्षी निर्णय

blog

यशोदा पौडेल

रामग्राम, जेठ २३ गते । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले लोकप्रियताका लागि प्रचारमुखी र महत्त्वाकाङ्क्षी निर्णय सार्वजनिक गर्न थालेका छन् । सातवटा पालिकामा हरेकजसोले यस्तो निर्णयमा प्रतिबद्धता व्यक्त गर्न थालेको पाइएको छ ।

सबैभन्दा पुरानो रामग्राम नगरपालिकाले विशेष गरी बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समस्या समाधान गर्न योजना अघिसारेको नगरप्रमुख धनपद यादवले जानकारी दिनुभयो । विशेष गरी झरही खोलामा बर्सेनि आएको बाढीले क्षति पु-याएको भन्दै तटबन्ध निर्माण गर्ने कार्यलाई तीव्रता दिइने यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रमुख पदमा महिला नेतृत्व पाएको सुनवल नगरपालिकाले पनि नगरपालिकाको पहिलो बैठकबाट लोकप्रिय निर्णय गरेको छ । नगरपालिकाको पहिलो बैठकबाट मासिक पाँच हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने परिवारको महसुल नगरपालिकाले बेहोर्ने निर्णय भएको प्रमुख विमला अर्यालले जानकारी दिनुभयो  ।  लुम्बिनी प्रदेशको पश्चिमतर्फबाट पस्ने पहिलो प्रवेशद्वार मानिएको बर्दघाट क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासलाई मुख्य लक्ष्य बनाएर अघि बढ्ने योजना रहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो  । 

माटो परीक्षण प्रयोगशाला 

उखु खेतीको मुख्य क्षेत्र मानिने प्रतापपुर गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रयोगशाला अभावका कारण स्वास्थ्य सेवाका लागि अन्यन्त्र जानुपर्ने बाध्यता रहेकाले स्वास्थ्य प्रयोगशाला निर्माण गर्ने निर्णय पनि पालिकाबाट गरिएको हो । गाउँपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने योजना अघि सारेको पालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो  ।  यसैगरी छोरीलाई शिक्षामा अभिप्रेरित गर्न स्नातक तह अध्ययन गर्ने छात्रालाई निःशुल्क साइकल वितरण गरिने योजना पालिकाले अघि सारेको उहाँले बताउनुभयो ।

सेवा प्रवाहमा पारदर्शिता 

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले विकासको अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष चौधरीले अघिल्लो कार्यकालमा भएका कामको मूल्याङ्कन गरिने बताउँदै नागरिकलाई महसुस हुनेगरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । पालिकामा अब विकास निर्माणको कामले गति लिने गरी योजना बनाएर काम गर्ने अध्यक्ष चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सुस्तालाई पर्यटकीय नगरी बनाइने   

पटक–पटक भारतीय पक्षको अतिक्रमणको चपेटामा पर्दैै आएको सुस्ताभूमिलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो  । यसैगरी भारतसँग सिमाना जोडिएको पाल्हीनन्दन गाउँपालिकाको महेशपुल मूल भन्सार कार्यालय र सडकलगायतका भौतिक पूर्वाधारका लागि प्राथमिकतामा राखेर प्रदेश र सङ्घीय सरकारसँग बजेटका लागि पहल गरी पालिकाको चौतर्फी विकासको योजना अघि बढाउने अध्यक्ष वैजप्रसाद गुप्ताले प्रतिबद्धता व्यक्त गर्नुभयो ।