• ३० चैत २०८१, शनिबार

सागले सजिएको धनकुटाको मजुवा गाउँ

blog

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मझुवा गाँउमा देखिएको रायो साग ।

कविराज घिमिरे

हिले, चैत ३० गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मा पर्ने मजुवा गाउँ अहिले रायो सागमय भएको छ । गाउँका अधिकांश घरको आँगन, बारी र खेतमा अहिले यही साग लहलाउँदो छ । 

स्थानीय सागबारीमै व्यस्त देखिन्छन् । पानी हाल्नु, साग टिप्न, प्याकिङ गर्नु र बजार पठाउनु स्थानीयको दैनिकी बनेको छ । बितेको एक महिना यताको दैनिकी सागबारीमै बित्ने गरेको स्थानीय भद्रबहादुर विष्ट बताउनुहुन्छ । विष्टले तीन रोपनी जग्गामा रायो साग खेती गर्दै आउनुभएको छ । “राम्रो मूल्य पाइयो भने तीन रोपनीबाट दुई लाख पचास हजारदेखि तीन लाख रुपियाँसम्म आम्दानी हुन्छ,” विष्टले भन्नुभयो । 

मजुवा गाउँका करिब ९० प्रतिशत घरधुरीले रायो खेती गर्दै आएका छन् । करीब ३०० घरधुरीमध्ये लगभग २७० घरपरिवार यस व्यवसायमा आबद्ध छन् । बजारको समस्या नभएको, सिँचाइको सहजता र मेहनत कम लाग्ने भएकाले पछिल्लो तीन दशक यता यहाँका किसानहरू रायोसाग खेती गर्दै आएका छन् । आफूहरुले गरेको मिहिनेत अनुसार कमाई पनि राम्रो तथा बजारको पनि समस्या नभएका कारण साग खेतीमा लागेको स्थानीय कृषक खिमादेवी विष्ट बताउनुहुन्छ । “हामी दिउँसो साग टिपेर साँझपख प्याक गर्छौं गाडिले भोलिपल्ट बिहानै तराइको बजार पुर्‍याउँछाैँ । हामीले अहिले सम्म साग बिकेन भनेर गुनासो गर्नु परेको छैन,” उहाँले भन्नुभयो । 


धनकुटा कोशीमा साग उत्पादनमा सबैभन्दा अगाडि

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०८०-८१ मा जिल्लामा तिन सय २६ हेक्टर क्षेत्रफलमा रायो साग खेती गरिएको थियो, जसबाट ३८६३ मेट्रिकटन साग उत्पादन भएको थियो । यो उत्पादन जिल्लागत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी रायो साग उत्पादन गर्ने जिल्ला रहेको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । कोशीका अन्य पहाडी जिल्लाको तुलनामा धनकुटामा रायो सागको उत्पादन र निर्यात बढी हुने गरेको कृषि ज्ञानकेन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो । 

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सबैभन्दा बढी साग उत्पादन हुने गरेको छ , त्यसपछि क्रमशः धनकुटा नगरपालिका, पाख्रिवास, महालक्ष्मी र साँगुरीगढी गाउँपालिकामा साग उत्पादन हुने गरेको छ । धनकुटामा स्थानीय ‘मार्फा’ जातको रायो साग खेती गरिन्छ, जुन साग मुख्य रूपमा झापा, मोरङ, र सुनसरीसम्म निर्यात हुने गर्छ । एकपटक लगाएको सागबाट ५-६ पटकसम्म टिपेर बेच्न सकिने हुँदा यो खेती निकै फाइदाजनक हुने गरेको कृषकहरूको भनाइ छ ।