• ५ वैशाख २०८२, शुक्रबार

प्युठानका सबै वडामा केन्द्रीय विद्युत् विस्तार

blog

प्युठानका ९ स्थानीय तहका ६४ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुचमा । तस्बिर : प्राधिकरण प्युठान वितरण केन्द्र

सलिम मियाँ
बिजुवार, चैत २९ गते ।
प्युठानका ९ स्थानीय तहका ६४ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुच पुगेको छ । नौ बहिनी गाउँपालिका–१ स्याउलिबाङमा प्रसारण लाईन विस्तार भएसँगै जिल्लाका सबै वडामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका अनुसार स्याउलिबाङमा १५ किमी प्रसारण लाइन, दुई वटा १०० केभीएका ट्रान्सफर्मर र २० कि.मि वितरण लाइन जडान गरिएको छ । यससँगै करिब ५ सय घरधुरीमा नियमित विद्युत् सेवा पुगेको हो ।

वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले असार मसान्तसम्म जिल्लालाई पूर्ण विद्युतीकरण गरी “उज्यालो जिल्ला” घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसअघि स्थानीय खोलाबाट उत्पादित लघु जलविद्युत् प्रयोग गर्दै आएका बासिन्दाले अब चौबिसै घण्टा राष्ट्रिय ग्रिडको विद्युत् सेवा पाएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अब गाउँ उज्यालो भएको छ, विद्युत् नहुँदाको सास्ती हटेको छ ।”

३४ वर्षदेखि सञ्चालनमा रहेको वितरण केन्द्रले हालसम्म प्युठान जिल्लाका ३३ हजार घरधुरीमा विद्युत् पुर्‍याएको छ । यसका साथै झिमरुक जलविद्युत् केन्द्रबाट उत्पादन हुने १२ मेगावाट विद्युतले स्थानीय माग धानेको छ ।

प्रतिनिधिसभा सदस्य सूर्य थापाको पहलमा चार करोड १२ लाख रुपियाँको योजनाबाट विद्युतीकरणमा थप गति आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर रिदेश श्रेष्ठले “अब हाम्रो ध्यान सेवा पुर्‍याउने मात्र होइन, गुणस्तरीय, भरपर्दो र दिगो विद्युत् आपूर्तिमा छ ।” उहाँले भन्नुभयो ।