• ५ वैशाख २०८२, शुक्रबार

आकाश भैरव बाह्रबर्से जात्राको तयारी

blog

काठमाडौँ, चैत २९ गते । काठमाडौँ उपत्यकाको ठुलो चाड इन्द्रजात्रामा लाखे, पुलुकिसी र हल्चोक आकाश भैरवको नाच विशेष आकर्षणका रूपमा रहेको हुन्छ । यी नाच इन्द्रजात्रामा मात्र निकालिन्छ । श्री हल्चोक आकाश भैरवको भने हरेक १२ वर्षमा गण नाच पनि निकालिन्छ । जुन श्री हल्चोक आकाश भैरवको १२ बर्से जात्राका रूपमा प्रख्यात छ । यसपालि वैशाख १ गतेदेखि एक महिना श्री हल्चोक आकाश भैरवको १२ बर्से जात्रा हुँदै छ ।

इन्द्रजात्रामा आकाश भैरव, चण्डी र कुमारी तीन देवताले मात्र सहर परिक्रमा गर्ने गर्दछ । १२ बर्से जात्रामा भने श्री हल्चोक आकाश भैरवको देवगणका रूपमा श्री गङ्गा, श्री महादेव, श्री पार्वती, श्री आकाशदेवी, श्री वाराही, श्री महाकाली र श्री दक्षिणकालीदेवी पनि रहेका हुन्छन् । श्री हल्चोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादुर पुतुवारले वैशाख १ गते हल्चोकमा पञ्चबलि पूजा गरी यस १२ बर्से जात्राको सुरुवात गरिने बताउनुभयो । यसअघि पुतुवार समुदायका गुथियारले पहिलो दिन नागार्जुनको छहरो र आकाशदेवी स्थानमा गएर पूजा गर्ने परम्परा रहेको छ । त्यसबेला देवशक्ति हावाको माध्यमबाट झ्याली, बाजा र चिराखमध्ये एउटामा प्रवेश गर्दछ भन्ने विश्वास रहिआएको छ । अध्यक्ष पुतुवार भन्नुहुन्छ, “तीमध्ये कुनै एकमा देवशक्ति प्रवेश भएको आभास भएपछि त्यसलाई कपडाले छोपछाप गरी देवघर लगिन्छ र त्यहाँ विशेष पूजा गरिन्छ, त्यसपछि १० देवदेवीलाई हल्चोक परिक्रमा गराउने प्रचलन रहेको छ । दोस्रो दिन बिहान सबेरै हल्चोकबाट श्री आकाश भैरव गणलाई काठमाडौँको ताम्सीपाखामा विराजमान गराइन्छ । सोही दिन ताम्सीपाखाबाट हनुमानढोकास्थित कालभैरव मन्दिरअगाडि इन्द्रजात्रामा यःसिं उठाउने स्थानमा पञ्चबलिसहित पूजाआजा गरिन्छ । यसपछि एक महिनासम्म जात्रा सञ्चालन गरिसकेपछि हल्चोकमै विसर्जन गरी पञ्चबलि पूजा गरी जात्रा समापन गर्ने प्रचलन छ ।”

अध्यक्ष पुतुवारले यसपालि वैशाख ३ गते केलटोल, वैशाख ६ गते मरु डबली, वैशाख ११ गते असन डबली, वैशाख १२ गते दमाईंटोल, वैशाख १३ गते वतु चिकंअत, वैशाख १८ गते न्यतपाःच्व, वैशाख १९ गते पहिको त्वाः, वैशाख २० गते ब्रह्मटोल, वैशाख २१ गते खुसिबुँ, वैशाख २५ गते बहति (सोहखुट्टे), वैशाख २७ गते न्योखा, वैशाख ३१ गते ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा नाच प्रदर्शन गरिने पक्का भइसकेको बताउनुभयो । उहाँका अनुसार यीबाहेक निम्तो आएको अन्य स्थानमा पनि गण नाच देखाइने प्रचलन छ । यद्यपि यसका लागि आमन्त्रण गर्नेले पूजाको सामग्रीका साथ अन्य चढाउने सामग्री देवगण, बाजागाजासहितका लागि २५ भाग अनिवार्य रूपमा तयार गर्नुपर्ने तर पञ्चबलि पूजा आयोजकको स्वेच्छामा भरपर्ने जानकारी पनि अध्यक्ष पुतुवारले दिनुभयो । स्थानीय नेवारले श्री हल्चोक आकाश भैरवलाई ‘सवःद्यः’ तथा ‘सवःभकु’ पनि भन्ने गर्दछ । यसै गरी श्री हल्चोक आकाश भैरवलाई वायु तìवका रूपमा पनि पुजिने गर्दछ । कसैलाई वायुसम्बन्धी विकार भएमा हल्चोकमा पूजा गरेपछि ठिक हुन्छ भन्ने जनविश्वास रहेको छ ।

श्री हल्चोक आकाश भैरवको जात्रा १०३८ वर्षअघि नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले सञ्चालन गरेको आख्यान रहेको छ । श्री हल्चोक आकाश भैरव समाजका संरक्षक सागर पुतुवारका अनुसार राजा गुणकामदेवलाई महालक्ष्मीले दर्शन दिनुभएको र उहाँकै आदेश अनुरूप राज्यलाई सत्रुको भयबाट मुक्त गर्नका लागि हल्चोकमा श्री आकाश भैरवसहित विभिन्न देवता तान्त्रिक विधिले उत्पन्न गराई स्थापना गरेको वंशावलीमा उल्लेख छ । यसै गरी वंशावलीमा श्री हल्चोक आकाश भैरवको १२ बर्से जात्रा भने राजा अमर मल्लले सुरु गर्नुभएको उल्लेख छ ।

संरक्षक पुतुवारले विगतमा आर्थिक कारणले १२ बर्से जात्रा चाहना अनुरूप गर्न नसकेको तर यसपालि व्यवस्थित तरिकाले धुमधामले १२ बर्से मेला मनाउने तयारी गरेका छौँ, भन्नुभयो । १२ बर्से मेला जात्रा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाबाट २५ लाख ४० हजार रुपियाँ, नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपियाँ बजेट विनियोजन भएको छ भने अन्य भक्तजनबाट करिब छ लाख रुपियाँ सङ्कलन भएको बताइएको छ । यसै गरी देवताका लागि इतुंबहालका राजेन्द्र शाक्यको परिवारले १७७.८४ तोला चाँदीको पेटी बनाई अर्पण गरेको पनि जनाइएको छ । एकमहिने १२ बर्से जात्रा भव्य रूपमा सम्पन्न गर्न ११५ जनाको मूल समारोह समितिसहित विभिन्न उपसमति पनि गठन गरिएका छन् ।