• ८ असार २०८२, आइतबार

सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउन सुझाव

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत

काठमाडौं, चैत २८ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल प्रयोग हुने सञ्चारमाध्यमसहितमा गलत र भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको र त्यसले देशलाई पछाडि पार्ने काम गरेकोमा उहाँको असन्तुष्टि थियो ।

बिहीवार प्रेस काउन्सिलमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले समाधानमुखी रचनात्मक पत्रकारिता हुन सके मात्र अहिलेको पत्रकारितामा सुधार आउने बताउनुभयो ।

सामाजिक सञ्जालको गलत र नियोजित प्रयोगले मिडियामाथि नै हिलो छ्याप्ने काम भएको छ । ती प्रयोगकर्ता पत्रकार हुन सक्दैनन्, नयाँ खुलेका अनलाइन, युट्युव सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरुका लागि राखिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो ।


नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेल र गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक केपी गौतमले पत्रकार आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुबारे सहजीकरण गर्नुभएको थियो । लुँइटेलले डिजिटल सञ्चार माध्यम संयमित र विश्वसनीय हुन जरुरी भएको उल्लेख गर्दै त्यसका लागि सञ्चारकर्मी स्वयं जागरुक हुनुपर्ने बताउनुभयो ।

गौतमले आचारसंहिता पालना नगर्दा अहिले मिडियाप्रतिको धारणा नै बदलिन लागेकाले यसतर्फ सबै सचेत र सजग हुनुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीले पर्याप्त अध्ययन, मेहनत र खोजी गर्न जरुरी छ । पत्रकार आचारसंहिता पालना गरेको छु कि छैन भनेर हमेशा ख्याल गर्नुपर्छ, उहाँले त्यसक्रममा भन्नुभयो ।

डिजिटल सञ्चारमाध्यमलाई आचारसंहिता र पत्रकारिताको आधारभूत ज्ञान दिलाउने उद्देश्यले काउन्सिलले अभिमुखीकरण कक्षालाई श्रृंखलाबद्ध ढंगले चलाइरहेको छ । मिडियाको सही प्रयोग गर्न चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउनका लागि काउन्सिलले सम्पादक सम्वाद र सञ्चारमाध्यमसँग काउन्सिल जस्ता कार्यक्रमलाई निरन्तरतासमेत दिइएको त्यस क्रममा जानकारी दिइयो ।