काठमाडौं, चैत २८ गते । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो चुनौति दिनुभएको हो । व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाइ हुने बताउनु भयो । उहाँले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गर्नुभयो । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उहाँको भनाइ छ । उहाँले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज देशभरका युवालाई साक्षी राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाइ छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आउ राजनीतिमा गर्न पाउँछौं । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए । ती सबै राजाहरु आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साँच्चै जनताको सेवा गर्न मन छ भने, साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा । आँट छ ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौँ । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठुला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने ? म सोध्छु उहाँलाई ।’’
वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तीहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ । उहाँले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरुले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्नसमेत आग्रह गर्नुभयो ।