• ३१ चैत २०८१, आइतबार

दीपेन्द्रको कीर्तिमानसहित नेपालको दोस्रो जित

blog

विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, चैत २८ गते । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानसहित नेपालले हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजमा दोस्रो जित निकालेको छ । 

हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हरायो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो । जितसँगै नेपालले दुई खेलबाट चार अङ्क बनाएको छ । 

जितका लागि कुवेतले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि नेपालले मलेसियाविरुद्ध एक सय ६६ रनको लक्ष्य पूरा गरेको थियो । 


नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाउनुभयो । उहाँले ५० बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आसिफ शेखले ५३ रन बनाउनुभयो ।

उहाँले ३८ बलमा चार छक्का र दुई चौक हान्नुभएको थियो । दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाउनुभयो । बलिङमा कुवेतका यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउनुभयो ।


यस्तै मित भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाउनुभया । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक विकेट झार्नुभयो । 

यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्को विश्व कीर्तिमान कायम गर्नुभएको छ । कुवेतविरुद्ध उहाँले सबैभन्दा धेरै इनिङ डकआउट नहुने खेलाडीको कीर्तिमान बनाउनुभएको हो । उहाँ अन्तर्राष्ट्रियमा लगातार ६६ इनिङ्समा डकआउट हुनुभएको छैन ।


यसअघि यो कीर्तिमान वेस्ट इन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा लगातार ६५ खेलमा डकआउट थियो । दीपेन्द्रसिंहको नाममा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि छ । उहाँले मङ्गोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो । 

चार टोलीसम्मिलित यस सिरिजको अन्तिम खेल नेपालले शनिबार हङकङसँग खेल्ने छ । लिग चरणको शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुने छ । अन्तिममा दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन् ।