रेखीराम राना
तानसेन, फागुन २६ गते । पाल्पामा पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारहरूको जमाानत जफत भएको छ । पाल्पा-१ मा १३ र पाल्पा-२ मा १६ गरी २९ जना उम्मेदवारहरूमध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
जमानत जफत हुनेमा पूर्वमन्त्री एवं नेकपाका उम्मेदवार सोमप्रसाद पाण्डेयसमेत रहनुभएको छ । उहाँ पाल्पा-२ मा उम्मेदवार हुनुभएको थियो । यस्तै पाल्पा-१ मा नेकपाका उम्मेदवार हुम सुनारीमगरको पनि जमानत जफल भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका नासु विनोद घिमिरेले जानकारी दिनुभयो ।
जमानत जोगिनेमा पाल्पा–१ मा काङ्ग्रेसबाट निर्वाचित सन्दीप रानासँग पराजित हुने एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य र रास्वपाबाट उम्मेदवार बन्नुभएका विमल पन्त रहनुभएको छ । यस्तै पाल्पा–२ मा रास्वपाका उम्मेदवार मााधव थापासँग पराजित नेपाली काङ्ग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र एमालेका उम्मेदवार ठाकुर गैरेको पनि जमानत जोगिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।
कुल सदर मतको १० प्रतिशत मत नल्याए जमानत (धरौटी) जफत हुने निर्वाचन कानुनमा व्यवस्था रहेको छ । पराजुलीका अनुसार हरेक उम्मेदवारले जमानत (धरौटी) वापत १० हजार रुपियाँ राखेका थिए । महिला उम्मेदवारले भने ५० प्रतिशत छुट छ । जमानत जफत नहुने उम्मेवारले धरौटी रकम फिता पाउने छैनन् ।