• २६ फागुन २०८२, मङ्गलबार

नवलपरासीमा ५ प्रतिशत बढी मत बदर

blog

बिकास अधिकारी

पश्चिम नवलपरासी, फागुन २६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पश्चिम नवलपरासीका दुई वटा निर्वाचन क्षेत्रमा पाँच प्रतिशत बढि मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फ कुल खसेको मत ३ लाख ४४ हजार ३९८ मध्ये १८ हजार ४६६ मत (५.३६ प्रतिशत) बदर भएको छ । प्रत्यक्ष तर्फ धेरै मत बदर भएको छ । 

नवलपरासीका दुवै क्षेत्रमा प्रत्यक्षतर्फ १ लाख ७१ हजार २२ मत खसेकोमा १० हजार ४७७ (६.१२ प्रतिशत) मत बदर भएको छ । यसैगरी समानुपातिकमा कुल १ लाख ७३ हजार ३७६ मत खसेकोमा ७ हजार ९८९ (४.६० प्रतिशत) मत बदर भएको हो । धेरै जसो बदर मतमा दुईवटा चिन्हमा मत लगाएको पाइएको छ । निर्वाचन आयोगले बदर मत घटाउने बताएपनि अपेक्षाकृत रुपमा बदर मत घट्न सकेको छैन । निर्वाचन शिक्षा प्रभावकारी नहुदाँ बदर मतको प्रतिशत बढ्दै गएको हो । 

दुईवटा मतपत्र हुन्छ भन्ने ज्ञान नहुँदा सुरुमा प्राप्त हुने प्रत्यक्ष तर्फकै मतपत्रमा दुईवटा चिन्हमा छाप लगाउँदा धेरै मत बदर भएको पाइएको छ । मतगणनामा खटिएका कर्मचारीले धेरैजसो एउटा मतपत्रमा दुई वटा चिन्हमा छाप लगाउँदा बदर भएको पाइएको बताएका छन् । स्थानीयस्तरमा कर्मचारी परिचालन गरेर मतदाता शिक्षा दिएको निर्वाचन कार्यालयले बताएपनि मतदाता शिक्षा टोलटोलमा पुग्न सकेको पाइएन । धेरैलाई यस विषयमा जानकारी छैन । सबैभन्दा धेरै बदर प्रत्यक्ष तर्फ नवलपरासी क्षेत्र नम्बर दुईमा भएको छ । 

क्षेत्र नम्बर दुईमा प्रत्यक्षमा ५ हजार ४५९ र क्षेत्र नम्बर एकमा ५ हजार १८ मत बदर भएको छ । समानुपातिक तर्फ पनि क्षेत्र नम्बर दुईमै बदर मत बढि छ । क्षेत्र नम्बर एकमा समानुपातिक तर्फ ३ हजार ८४८ मत बदर हुँदा क्षेत्र नम्बर दुईमा ४ हजार १४१ मत बदर भएको छ ।  बदर मत घटाउन राजनीतिक दलहरूको पनि भूमिका हुने गर्दछ । तर निर्वाचन परिचालनको क्रममा मतदाता शिक्षामा दलहरूले पनि खासै जोड दिएको पाईंदैन ।