काठमाडौँ, चैत ३० गते । नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् रोल्पाका प्रतिनिधि सभा सदस्य ईश्वरी घर्ती मगरले राष्ट्रिय गौरवबाहेक सङ्घीय संसदलाई सबै योजनामा जोड्नु नहुने बताउनुभएको छ । सांसदको प्रमुख जिम्मेवारी नीति निर्माण भएकाले सबै योजनामा जोड्नु उचित नहुने उहाँको भनाइ छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सांसद मगर आदिवासी जनजाति कोटाबाट नेकपा (एमाले)को प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य बन्नुभएको हो। उहाँको जन्म रोल्पाको रुन्तीगढी गाउँपालिका ६ होलेरी टोलमा २०४६ साल फागुन १५ गते बुवा खिमलाल आमा हस्तकला घर्तीको कोखबाट भएको हो ।
औपचारिक शिक्षा उहाँले रोल्पामै लिनुभयो । भगवती प्राथमिक विद्यालयबाट उहाँले औपचारिक शिक्षा सुरु गर्नुभएको हो । भगवती प्रावि, सरस्वती निमावि र अरनीको मावि गरेर उहाँले कक्षा १० सम्मको शिक्षा तीन वटा विद्यालयबाट लिनुभयो । उहाँले २०६२ सालको एसएलसी अरनीको माविबाट दिनुभएको हो । रोल्पाको लिवाङमा रहेको बालकल्याण उच्च माविबाट उहाँले कक्षा ११ र १२ को अध्ययन गर्नुभयो । उच्च शिक्षाका लागि उहाँ रोल्पाबाट सल्यान पुग्नुभयो । सल्यानको जनकल्याण क्याम्पसबाट उहाँले स्नातक तहसम्मकाे पढाइ पूरा गर्नुभयो भने त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।
विद्यालय तहमा अध्ययन गर्दादेखि नै अनेरास्ववियुको सदस्य लिएर उहाँले २०५७ सालदेखि नै राजनीतिक अवद्धता जनाउनुभएको हो । उहाँ २०६२ असोजदेखि भने राजनीतिमा सक्रिय हुनुभएको छ । अरनीको माध्यमिक विद्यालयको अनेरास्ववियुको प्रारम्भिक कमिटीको उपाध्यक्ष बनेपछि उहाँमा राजनीतिप्रतिको लगाव बढेको हो । प्लस टू अध्ययनका लागि बालकल्याण उच्च माविमा पुगेपछि उहाँ प्रारम्भिक कमिटीको संस्थापक अध्यक्ष बनेर काम गर्नुभयो । त्यसपछि अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बन्नुभयो ।
छोटो समय पत्रकारितासमेत गर्नुभएकी घर्ती प्रेस चौतारी रोल्पा जिल्ला अध्यक्षसमेत बन्नुभयो । फेरि पत्रकारिता छोडेर राजनीतिमा सक्रिय उहाँ गाउँ कमिटी सदस्य, इलाका कमिटीको उपसचिव, रोल्पा जिल्ला कमिटीको दुई कार्यकाल सदस्य बन्नुभयो । उहाँ २०७१ सालमा आइपुग्दा एमाले महिला सङ्गठन अनेमसङ्घको रोल्पा जिल्ला अध्यक्ष हुनुभयो । उहाँ त्यसपछि लुम्बिनी प्रदेश कमिटी सदस्य हुँदै सचिवालय सदस्य बन्नुभयो । उहाँ एमाले र माओवादीको एकतापछि नेकपा बन्दा केन्द्रीय सदस्य हुनुभयो ।
पार्टी विभाजन भएपछि एमाले लुम्बिनी प्रदेश समिति सदस्य, सचिवालय सदस्य हुँदै चितवनमा भएको एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको हो । उहाँ प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य र दुवै सदनको संसदीय सुनुवाइ समिति सदस्यसमेत हुनुहुन्छ ।
प्रस्तुत छ – नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् रोल्पाका प्रतिनिधि सभा सदस्य ईश्वरी घर्ती मगरसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :