• ३१ चैत २०८१, आइतबार

झापासँग हार्‍यो आरसिटी

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दे झापा र आरसिटीका खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौँ, चैत २७ गते । झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) माथि जित निकालेको छ । 

एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा झापाले आरसिटीलाई २–१ गोलले हरायो । झापाको जितमा प्रदीप बुढाथोकी २०औँ र मनीष लिम्बुले ४२औँ गोल गर्नुभयो । आरसिटीका लागि प्रज्वल गुरुङले ५५औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो । 

जितसँगै पाँच खेलबाट सात अङ्क बनाएको झापा झापा पाँचौं स्थानमा उक्लिएको छ । पराजित आरसिटी समान खेलबाट चार अङ्क जोड्दै १२औँ स्थानमा छ । 

प्रज्वलले ५५औं मिनेटमा गोल गर्दै आरसिटीलाई खेलमा फर्काउने सङ्केत दिएका थिए । तर त्यसपछि थप गोल निस्कन सकेन । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।