• ३ साउन २०८१, बिहिबार

चिटिक्क बेनीको कोतघर

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २२ गते । सदरमुकाम बेनीस्थित पुरानो कोतघरको पुननिर्माण गरिएको छ । संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतघरको पुनरनिर्माण गरिएपछि चिटिक्क बनेको हो । 

बेनी नगरपालिकाले पुरानै स्वरुपमा कोतघरको पुनःनिर्माण गरेको हो । बाइसेचौबिसे मल्ल राजाको पालामा निर्माण भएको कोतघर पुरानो भएर जिर्ण बनेको थियो । कोतघरको पुनःनिर्माण र आसपासको क्षेत्रलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको वडा ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । बेनीको कोतघरका साथै बजारमा रहेका ऐतिहासिक मठ मन्दिरहरुको पुनरनिर्माण र संरक्षणमा नगरपालिकाले जोड दिएको उहाँले बताउनुभयो । 

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको पर्यटन पूर्वाधारतर्फको ८ लाख रपियाँमा कोत घरको पुनःनिर्माण थालिएको र बाँकी अपुग रकम चन्दा, सहयोग जुटाएर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । कोतघरको पुनरनिर्माणमा १५ लाख रुपियाँ खर्चहुने अनुमान गरिएको छ । असार महिनाभित्र पुनरनिर्माणको काम सकिने वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।  

बेनी बजारमा रहेको कोतघर पुरानो सम्पदा भएकाले वडाको पहलमा संरक्षण गर्न पुनःनिर्माण गरिएको निर्वतमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । ‘कोतघर बेनीको ऐतिहासिक स्थल पनि भएकाले यसको संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने हाम्रो उद्देश्य हो’ उहाँले भन्नुभयो ।

कोतघर जिर्ण बनेर छानो चुहिने, भुईमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेकाले भत्काएर पुरानै स्वरुपमा थोरै मात्र परिवर्तन गरेर पुनःनिर्माण गरिएको निवर्तमान वडाध्यक्ष बराइलीले बताउनुभयो । उहाँकाअनुसार कोतघरमा रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ । 

ऐतिहासिक महत्वका तोप, खुकुरी, तारबार लगायतका हतियार भएको कोतघर परिसरमा तत्कालिन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार राखेको भनाई छ । बेनीमा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणमा वडा कार्यालय जुटेको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । गतवर्ष कोतघर परिसरमा पूर्वधार निर्माण गरिएको थियो । कोतघरमा बडादशै र चैते दशैंमा पुजाआजा गरिन्छ ।