रामकृष्ण बोहरा
बागलुङ, चैत २६ गते । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शय्याको धौलागिरि आयुर्वेद अस्पताललाई २५ शय्यामा सुविधायुक्त अस्पतालका रूपमा स्तरवृद्धिको तयारी गरिरहेको छ ।
स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा मानव संसाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित गर्दैछ । प्रदेश सरकारले ४४ लाख रुपियाँ बजेट विनियोजन गरेपछि हाल पाँच शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पतालमा स्तरवृद्वि गर्ने तयारी स्वरुप पूर्वाधार विस्तारको काम चलेको हो ।
पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्ने बिरामीहरुको सङ्ख्या बढ्दै गएको र अस्पतालको साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएपछि पूर्वाधार विस्तारको काम चलिरहेको अस्पतालका प्रमुख डा. शरद पन्थीले जानकारी दिनुभयो । अस्पतालले पूर्वाधार निर्माणका लागि भ्याटसहित ३१ लाख रुपियाँमा काम सम्पन्न गर्नेगरी बलेवा भैरव निर्माण सेवासँग ठेक्का सम्झौता गरी काम थालेको हो ।
अस्पतालको छतमा प्रि–फ्याब प्रविधिको पाँच कोठे र भुइँतलामा तीनकोठे संरचना निर्माणको काम चलिरहेको छ । दोस्रो तलमा निर्माणाधिन भवनमा हाल रहेको प्रशासनलाई स्थान्तरण गरिने छ भने प्रशासन रहेको तलाबाट अन्तर्गत सेवा प्रदान गरिने डा. पन्थीले बताउनुभयो । भुइँतलामा निर्माण गरिएको तीनकोठे संरचना भने चमेना गृह, फार्मेसी, चुर्ण औषधी उत्पादनका लागि प्रयोग गरिनेछ ।
गत कात्तिक १२ गतेको मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षमा धवलागिरि आयुर्वेद औषधालयलाई २५ शय्यामा स्तरवृद्धि गर्ने निर्णय गरेको थियो । गत मङ्सिर १९ गते औषधालयको नाम संशोधन गर्दै अस्पताल राखिएको थियो । अस्पतालको स्थलगत अनुगमन तथा मूल्याङ्कन (ओएनएम) प्रतिवेदन मन्त्रिपरिषद्ले पास गरेपनि प्रदेशका प्रमुख सचिवले प्रमाणिकरण गर्न बाँकी रहेको डा. पन्थीले जानकारी दिनुभयो ।
ओएनएम प्रमाणीकरण भएमा अस्पतालमा ३९ जना स्थायी जनशक्ति हुनेछन् । हाल अस्पतालमा ६ स्थायी दरबन्दी र १४ जना करारका डाक्टर, नर्स, पारामेडिक्स र थेरापिष्ट कार्यरत छन् । ओएनएम प्रमाणीकरण भएमा जनरल, काय चिकित्सक, शल्य चिकित्सक, स्त्री प्रसूति र अकुपञ्चर गरी पाँच जना विशेषज्ञ डाक्टरहरु थपिनेछन् । हाल अस्पतालमा आर्युेवेदिक र प्राकृतिक चिकित्सकले सेवा दिइरहेका छन् ।
अस्पतालमा भौतिक पूर्वाधार विस्तार भइरहे पनि मौजुदा संरचना पर्याप्त भने नहुने डा. पन्थी बताउनुहुन्छ । ‘‘२५ शय्याको अस्पताललाई धेरै नै संरचना चाहिन्छ, आयुर्वेद उपचार पद्धति अस्पतालमै भर्ना गरेर बढी गर्नुपर्छ, अहिलेको आउने बिरामी चाप हेर्दा अहिलेको संरचनाबाट सहज रुपमा सेवा प्रवाह सकिँदैन’’ पन्थीले भन्नुभयो । थप संरचना निर्माणका लागि अहिले अस्पताल जग्गाको खोजीमा छ । जग्गा प्राप्त भए बजेटको अभाव नहुने डा. पन्थीको भनाइ छ ।
आयुर्वेदिक उपचारमा नागरिकको विश्वास बढ्दा केही वर्ष अघिसम्म सुनसान जस्तै देखिने अस्पतालमा अहिले दैनिक बिरामीको चाप बढेको डा. पन्थीले बताउनुभयो । गतवर्ष ११ हजारभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिँदा त्यो बढेर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ हजार बढी बिरामीले सेवा लिएका छन् ।
विशेष गरी नसर्ने रोगको प्रकोपलाई निवारण गर्न आयुर्वेद उपचार पद्धति अति नै उपयुक्त हुने भएकाले बिरामीमा आयुर्वेद अस्पतालप्रति भरोसा जागेको डा. पन्थी तर्क गर्नुहुन्छ । ‘‘नेपालमा नसर्ने रोगको अवस्था विकराल बन्दैछ, एक सयमा ७१ जनामा नसर्ने रोग देखिएको र पूर्णरुपमा निको बनाउन नसकिने यस्ता प्रकोपलाई पूर्ण निर्मूल गर्न आयुर्वेद उपचार अत्यन्तै फलदायी छ ।’’ डा. पन्थीले भन्नुभयो ।
जीवनशैली र आहारविहारबाट उत्पन्न भएका मधुमेह, रक्तचाप, दम र क्यान्सरलगायतका नगर्ने रोगबाट नागरिक आक्रान्त भइरहेको र यस्ता समस्यामा देशकै हिमालय क्षेत्रमा पाइने विश्वकै उत्कृष्ट मानिने जडीबुटीबाट बनेका औषधीहरुले न्यून दुष्प्रभावमा राम्रो नतिजा दिँदा बिरामीहरु आयुर्वेद उपचारप्रति आकर्षित भएको डा. पन्थीको भनाइ छ ।