कल्पना खरेल
नवलपरासी पश्चिम, चैत २४ गते । नवलपरासी पश्चिमका किसानलाई यतिबेला गहुँ काट्ने चटारो छ । एक हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् ।
सबै किसानले आफूले लगाएको गहुँ कम्पाइन मेसिनबाट काट्दै आएका छन् । त्यसरी कम्पाइन मेसिनबाट गहुँ काटेर खेतमा बाँकी रहेको नललाई अधिकांश किसानले आगो लगाएर डडाउने गरेका छन् ।
त्यसरी खेतमा आगो लगाउँदा माटोको उत्पादन शक्ति कम हुने र उत्पादनमै कमि आउनेमा अधिकांश किसान अनविज्ञ जस्तै छन् ।
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुश्माका ५५ वर्षका अशोक यादवले गहुँको नलबाट भुस बनाएर १५ दिनमा चार लाखसम्म आम्दानी गरेको सुनाउनुभयो ।
खेतमा रहेको नल काट्दा थप लागत लाग्ने भन्दै अधिकांश किसानले त्यसरी आगो लगाउने गरेका हुन् । तर त्यही नलको सदुपयोग गरेर केही किसानले मनग्य आम्दानी गर्ने गरेका छन् ।
पाल्हिनन्दन गाउँपालिका कुश्माकै २७ वर्षका विष्णु वर्माले यो पेशा अङ्गाल्नुभएको छ । गहुँ काट्ने सिजनमा गहुँ काटिसकेपछि खेतमै गएर भुष मेसिनले नल काट्नुहुन्छ । वर्मा भन्नुहुन्छ “यो १५ दिन हामीलाई सास फेर्ने पनि फुर्सद हुदैन । दिउँसो खाना खान १२ बजे एक घण्टा आराम गर्छौँ, घर पुग्दा रातिको १२ बज्छ, फेरि बिहानै ५ बजे हामी काममा निस्किहाल्छौं ।”
वर्माले गहुँ सिजनमा भुस बनाएर बेच्न थालेको पाँच वर्ष भयो । सबै खर्च कटाएर उहाँले १५ दिनमा एक लाखसम्म आम्दानी गर्नुभएको छ । वर्मा भन्नुहुन्छ, “यतिबेला हरियो घाँस पाइँदैन, गाईँ, भैैसीँलाई भुसको अर्डर आउछ । एक ट्याक्टरको तिन हजार देखि तिन हजार पाचँ सयसम्म विक्री हुने गरेको छ ।”
स्थानीय तहले समेत गहुँ काटिसकेपछि खेतमा रहेको नल जलाउनेलाई कानुन बमोजिम कारबाही र जरिवाना गर्ने बताएको छ ।
हरेक वर्षजसो गहुँ काटिसकेपछि खेतमा रहेको छ्वाली जलाउने क्रममा आगलागीका घटना घट्ने भन्दै स्थानीय तहले त्यस्तो कार्य गर्नेमाथि कारबाही र जरिवाना गर्ने जनाएका हुन् ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले गहुँ खेतमा आगो लगाउनेलाई २५ हजार जरिवाना हुने जानकारी दिनुभयो । रामग्राम नगरपालिकाले सूचना निकालेर हावाहुरी चलेको समयमा गहुँ खेतमा आगो लगाउँदा नजिकै रहेको अन्य खेतीमा र बस्ती नै जोखिममा पर्ने भन्दै त्यस्तो कार्य गरेमा कारबाही हुने जनाएको छ ।
त्यसैगरी, प्रतापपुर गाउँपालिकाले पनि खेतमा आगो लगाउँदा खेतमा हुने जीवको विनाश हुने र उत्पादन तथा उत्पादकत्वमा कमी आउने तथा विपद्का घटना निम्ताउने भएकाले त्यस्तो कार्य नगर्न गाउँबासीलाई सूचनामार्फत् सचेत गराएको छ ।
जिल्लामा गतवर्ष २७ हजार २४६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष पनि तातो हावा नचले र आगलागी नभए सोही अनुपातमा गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।