• २५ चैत २०८१, सोमबार

आगलागीमा ११ करोड भन्दा बढीको क्षति

blog

धनकुटाको उत्तरपानीमा भएको आगलागी दृष्य।

कविराज घिमिरे 

हिले, चैत २४ गते। पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ। स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो। शनिबार साँझ साढे सात बजे टिभी कोठाबाट अचानक आगो सल्किएको हो। 

पीडित श्रेष्ठका अनुसार आगलागीबाट घरसँगै सञ्चालनमा रहेको किराना होलसेल पसल तथा पसलमा रहेका सबै सामान र नगद ५ लाख रुपियाँ पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यसैगरी श्रेष्ठकै निर्माणाधीन दुई तले पक्की घरको झ्याल, ढोका र भित्तामा समेत क्षति पुग्दा झण्डै ११ करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काले जानकारी दिनुभयो।  विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

श्रेष्ठकै घर सँगै जोडिएको खगेन्द्र घिसिङको निर्माणाधीन दुई तले घर आंशिक रूपमा क्षति भएको छ। उक्त घरमा करिब ६ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीपछि घटनास्थलमा धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि मात्र आगो नियन्त्रणमा आएको थियो। आगलागी हुँदा समयमै दमकम नपुगेका कारण बढी क्षति भएको स्थानीयको आरोप छ।